मोरङ- साढे ३३ केजी सुनकाण्ड र सनम हत्या प्रकरणका आरोपी निल्मबित प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीलार्इ साधारण तारेखमा रिहा गरिएको छ। उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेसँगै १९ वैशाखमा पक्राउ परेका लोहोनी चार महिनापछि रिहा भएका हुन्।
न्यायाधीसद्वय नागेन्द्रलाध कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्न आदेश दिएको थियो। यो आदेशसँगै लोहोनी सुन कान्डमा उच्च अदालतको आदेशमा थुनामुक्त हुने पहिलो हाइप्रोफाइल प्रहरी अधिकृत हुन्। सुन तस्करी र सनम शाक्य प्रकरणमा जोडिएका दुर्इ जनामाथि जिल्ला अदालतले दिएको आदेश पनि यस अघि उच्च अदातले बदर गरेको थियो।
वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीका सवारी चालक विष्णु बहादुर खड्कालार्इ १५ हजार धरौटीमा छाड्ने र अंगरक्षक अम्बरबहादुर थापा मगरलाइ सादधारण तारेखमा छाड्ने जिल्ला अदालतको निर्णय पनि उच्च अदालतले उल्ट्याउँदै पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको थियो।
सुन कान्ड र सनम हत्या कान्डका २४ अभियुक्तहरुको आज पेसी तोकिएको थियो। सोही क्रममा आज लोहनीलाइ साधारण तारेखमा छाड्ने आदेश भएको विराटनगरका रहेको उच्च अदालतका शाखा अधिकृत राजप्रसाद दाहालले जानकारी दिए।
अभियुक्त लोहनीले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। उनी तत्कालिन महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख थिए। १९ वैशाखमा उनलार्इ पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो।
जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेर फर्कनेक्रममा फोटो खिच्न गएका पत्रकारहरूलाई एसएसपी दिवेश लोहनीले दुर्व्यवहार गर्दै लात्तासमेत प्रहार गरेका थिए। फोटो खिच्न खोज्दा आक्रोशित भएका लोहनीले पत्रकारलाई तथानाम गालि गर्दै लात्ता र मुक्का प्रहार गरेका थिए।
सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा १९ वैशाखमा मुद्दा दर्ता गरिएको थियो।
यस प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको दाबी गर्दै मुद्दा दायर गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४