शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं– यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले कात्तिकसम्म निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ।

National life

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारुमा हुने भएकाले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको छ। सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको थियो।

गत १८ र  ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृत क्षमता ४०९ मेगावाट पुगेको छ। खोलानालामा पानीको वहाब घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन कम भएसँगै निर्यात परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘उद्योगले अहिले स्वीकृत लोडअनुसार विद्युत् लिएका छैनन्। यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत् माग बढ्न सकिरहेको छैन। अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो सातासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने। 

Shivam cement

आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत् कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट  ८ रुपैयाँ २३ पैसा रहेको छ।

थप २३.५ मेगावाट निर्यात अनुमति

विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ। भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो।

प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेस गरेको थियो। त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो।

प्रकाशित: Nov 18, 2022| 14:41 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्