काठमाडौं– सहकार्य र सहकारितालाई केन्द्रमा राखेर बाबुराम भुसाल लिखित पुस्तक अभ्यास सार्वजनिक भएको छ। नयाँ पुस्तक ‘अभ्यास’ मा मानवजीवन र जगत्का विभिन्न पक्षको चर्चा गरिएको छ। मानव समाजको विगतदेखि वर्तमानसम्मको अवस्थाको चित्रणसँगै मानव अन्तर सम्बन्धको विविध स्वरूपको चर्चा पुस्तकमा समेटिएको छ। बहुविधालाई समेटेको पुस्तकलाई विज्ञान, दर्शन, शिक्षा, विकास, अध्यात्म, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक अर्थशास्त्रजस्ता फरक–फरक आयामबाट चियाउन सकिन्छ।
पुस्तकमा लेखक भुसालले मानव प्राणीले अपेक्षा गरेजस्तो परिवर्तन कसरी सम्भव होला भन्ने विषयमा सक्रिय क्षमताको उत्पादन गर्ने खास अभ्यासका उपाय अवलम्बन गर्नुपर्ने चर्चा गरेका छन्। पुस्तकमा हरेक व्यक्तिको आ–आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुन सक्छ। समग्रमा यस पुस्तकबाट हरेक व्यक्ति व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने देखिन्छ।
सहकारी अवधारणा आफैंमा नौलो होइन। सहकारीको अर्थ, मर्म, परिभाषा, यसका सिद्धान्त, सञ्चालन प्रक्रिया, सहकारीले दिने सेवासुविधा, सहकारी व्यवस्थापन, सहकारी लेखाप्रणाली, सहकारीको संस्थागत सुशासनजस्ता विषयमा विभिन्न पुस्तक, लेखहरू, प्रतिवेदन प्रकाशन हुँदै आएका छन्। पछिल्लो समयमा वित्तीय साक्षरता, उद्यमशीलता तथा सीप विकाससम्बन्धी तालिम पनि सहकारी संस्थाका सरोकारवालाका लागि सञ्चालन हुँदै आएको पाइन्छ। कतिपय देश वा समाजमा सहकारी क्षेत्र संकटमा रहेको वा सहकारी क्षेत्रमा विचलन आएको छ भन्नुको मतलव सहकारी क्षेत्र खराब हो? भन्ने पनि कहीँ–कतै सुनिँदै आएको छ।
सहकारी क्षेत्र हरेक व्यक्ति, समाज, देश वा मानव जगतको अभिन्न अंग बन्न किन जरुरी छ? सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उँभो लाग्ने अवस्था छ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन्? उनीहरूको भूमिका के हो? सहकारी क्षेत्रबाट हरेक व्यक्तिका अधिकांश आवश्यकता परिपूर्ति हुन सम्भव छ÷छैन? सहकारी क्षेत्र अगाडि बढ्दा यसले उद्यमशीलता, जीविकोपार्जन तथा अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउन कसरी सहयोग पुग्छ? आदि विषयलाई लेखकले मिहीन ढंगले केलाएका छन्।
सहकारी क्षेत्रले मानव अन्तरसम्बन्धलाई कसरी जोड्छ? समाज व्यक्तिवादिता, परनिर्भर सम्बन्ध, अस्वस्थ प्रतिस्पर्धा, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, व्यक्तिगत तथा वर्गीय वर्चस्व कायम राख्ने सोचतर्फ अगाडि बढिरहँदा सहकारिता कसरी जीवन्त रहन सक्ला? अभ्यास पुस्तकमार्फत यस्ता जिज्ञासा, चिन्ता तथा चासोको तथ्यपरक जवाफ खोज्ने प्रयास गरिएको छ।
नेपालजस्ता अल्पविकसित मुलुकमा सहकारी क्षेत्रको महत्त्व र मूल्य कम भएकाले अर्थतन्त्रमा निजी क्षेत्र हावी भएको होइन। सहकारी क्षेत्रले अर्थतन्त्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन नसक्दा निजी क्षेत्र अगाडि देखिएको हो। निजी क्षेत्रमुखी अर्थतन्त्रलाई किन सहकारीमुखी अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्नेछ र यो कसरी सम्भव छ भन्ने विषय अभ्यास पुस्तकमा यथार्थपरक ढंगले उजागर गरिएको छ।
विद्यमान अवस्थामा सहकारी संस्थामा हुने गरेका नियमित गतिविधिमा तथा सहकारी संस्थाहरूले जुनसुकै अप्ठेरासँग जुधिरहेको अवस्थामा संस्थाका पदाधिकारी तथा कर्मचारीले चिन्ता तथा चासो लिने गरेका हुन्छन्। तर सेयर सदस्यहरू ती गतिविधि तथा अप्ठेराबारे बेखबर रहेको देखिन्छ। विद्यमान अवस्थामा पनि तरलता अभाव, कर्जा जोखिमजस्ता अप्ठेरा सहकारी संस्थारूले भोग्दै आएका छन्।
सहकारी संस्थाको कारोबार अवस्था स्वस्थ रहे सेयर सदस्य ती सहकारी संस्थामा आबद्ध रहिरहन्छन् तर केही दुरावस्थाको संकेत देखिए सेयर सदस्यहरूले आफ्नो सेयर आबद्धतासमेत त्यागिदिन्छन्। दुरावस्थाको हल गर्ने जिम्मेवारीको भार सञ्चालक तथा कर्मचारीले बोकेको देखिन्छ। सेयर सदस्यलाई आफू आबद्ध भएको सहकारी संस्थामा निर्णायक, नियामक र जिम्मेवार बनाउन सकिए कतिपय अप्ठेरा आउँदै नआउने वा आए पनि छिटो समाधान हुन सक्ने देखिन्छ। अभ्यास पुस्तकको अध्ययनले यस विषयमा गहिरो अन्तर्दृष्टि प्रदान गर्न सक्छ।
सहकारी संस्थामा आबद्ध सेयर सदस्यबीच समेत विद्यमान अवस्थामा परनिर्भर सम्बन्ध, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, सामूहिक भावनाको कमी, आपसी प्रतिस्पर्धा, जितहार अर्थात् आफ्नो वर्चस्वका लागि जस्तोसुकै क्रियाकलाप गर्ने प्रवृत्ति तथा अवस्था देखिन्छ। कस्तो प्रकृतिको संगठनात्मक अभ्यास गर्दा यस्ता अवस्था स्वतः निस्तेज हुन्छन् भन्ने कुराको बोध गर्न अभ्यास पुस्तक लाभदायी हुन सक्छ।
सामान्यतया धेरैजसो सहकारी संस्थामा सेयर सदस्य बचत तथा कर्जा कारोबारका लागि मात्र आबद्ध भएको देखिन्छ। शेयर सदस्यले आफू आबद्ध रहेको सहकारी संस्थामार्फत आवश्यक अन्य वस्तु तथा सहजीकरण सेवा प्राप्त गरी उद्यम सञ्चालन गर्न र उद्यमबाट उत्पादित वस्तु तथा सेवा पनि आफू आबद्ध सहकारी संस्थामा रहेका सेयर सदस्यले नै खपत गर्ने गरी एक अर्कामा अन्तरनिर्भर सम्बन्ध स्थापित गर्न सम्भव छ भन्ने दृष्टान्त पुस्तकमा समेटिएको छ।
हरेक व्यक्तिको आ–आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुन सक्छ। समग्रमा अभ्यास पुस्तकबाट हरेक व्यक्ति–व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने सम्भावना लेखकले औंल्याएका छन्।