बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पर्सा–२ : कांग्रेसका चौरसियासँग एमाले गठबन्धनका कुर्मीको प्रतिस्पर्धा

पर्सा–२ : कांग्रेसका चौरसियासँग एमाले गठबन्धनका कुर्मीको प्रतिस्पर्धा

कांग्रेसबाट पर्सा क्षेत्र–२ को चुनावी मैदानमा रहेका अजय चौरासियाले २०७४ को जितलाई निरन्तरता दिन विकास निर्माणलाई प्रमुख मुद्दा बनाएकाले आफू विजयी हुने बताउँछन् भने एमाले गठबन्धनबाट टिकट पाएर पहिलो पटक संसद् छिर्ने दाउमा रहेका जसपाका नवप्रवेशी सुरेन्द्र कुर्मी जनमत आफूहरूको पक्षमा रहेको दाबी गर्छन्।
 |  बिहीबार, मंसिर १, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पर्साको क्षेत्र–२ मा कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। पर्सा–२ मा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अजय चौरासिया उम्मेदवार बनेका छन भने एमाले नेतृत्वको गठबन्धनबाट जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मी चुनावी मैदानमा छन्। मतदानको मिति नजिकिँदै जाँदा दुवै गठबन्धनका उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन्।

triton college

पर्सा क्षेत्र–२ मा प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ११ जना, प्रदेशसभा २ (क) मा ९ र २(ख) मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। चौरासिया र कुर्मीसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपकराज पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरेशकुमार साह, नेपाल सद्भावना पार्टीबाट उमेशप्रसाद कुर्मी, जनशक्ति पार्टीबाट सत्यनारायण प्रसाद, नेपाल मजदुर किसान पार्टीबाट सरोजकुमार साहलगायत ११ जना चुनावी मैदानमा छन्। पर्साको यो क्षेत्रमा वीरगन्ज महानगरका १३ वटा वडा, पर्सागढी नगरपालिकाका ९ वटा वडा र बहुदरमाई नगरपालिकाका ४ वटा वडा पर्छन्। 

कांग्रेसबाट उम्मेदवार रहेका चौरसिया लगातार दोस्रो पटक यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन्। उनी यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार रहे पनि पराजित भएका थिए। २०७४ मा यस क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी गठबन्धनबाट २१ हजार १६९ मत ल्याई राजपाका विमल श्रीवास्तवले जितेका थिए। चौरसिया १९ हजार ७०४ मतका साथ दोस्रो भएका थिए। चौरसिया कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुन्।

चौरसिया २०५६ को चुनावमा पनि पर्सा–३ बाट विजयी भएका थिए र २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहायकमन्त्री बनेका थिए। २०७४ मा यसअघि पराजित गर्ने विमल श्रीवास्तवको साथ अहिले चौरासियालाई छ। जसपाबाट जितेका श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनले वृद्धावस्थाका कारण राजनीतिबाट संन्यास लिएको घोषणा गर्दै लोसपा प्रवेश गरेका हुन्। लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा छ। चौरासिया २०६४ को पहिलो संविधानसभामा यही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०७० को दोस्रो संविधानसभामा विजयी राजकुमार गुप्ता अहिले पर्साको क्षेत्र–३ बाट चुनावी मैदानमा छन्। 

कांग्रेसबाट पर्सा क्षेत्र–२ को चुनावी मैदानमा रहेका अजय चौरासियाले २०७४ को जितलाई निरन्तरता दिन विकास निर्माणलाई प्रमुख मुद्दा बनाएकाले आफू विजयी हुने बताउँछन् भने एमाले गठबन्धनबाट टिकट पाएर पहिलो पटक संसद् छिर्ने दाउमा रहेका जसपाका नवप्रवेशी सुरेन्द्र कुर्मी जनमत आफूहरूको पक्षमा रहेको दाबी गर्छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले एमाले अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् विघटन गरेको विषयलाई आफूले प्रमुख मुद्दा बनाएको बताएका छन्। लोकतन्त्र र संविधान सिध्याउन षड्यन्त्र गर्ने, दुई तिहाइको सरकार चलाउन नसक्ने एमाले र उसको सहयात्री बनेको जसपालाई मत दिनुको कुनै अर्थ नभएको तर्क उनको छ।

corrent noodles
Metro Mart

पर्सा क्षेत्र–२ मा ८० प्रतिशत विद्युतीकरण आफूले नै गरेको बताउँदै नेता चौरसियाले पराजित भएपछि सडक, पुल, धर्मशाला निर्माणजस्ता ठूला योजना नबनेको बताएका छन्। उनले भने, ‘कतिपय विद्यालयमा आवश्यकताअनुसार शिक्षक, डेस्कबेन्च छैनन्। त्यसको व्यवस्था मिलाउने, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्ने, बिन्ध्यवासिनीमा वृद्धाश्रम बनाउने योजना मसँग छ’, उनले भने, ‘सीप सिकेर युवाहरू दक्ष बनून्। विदेश जाँदा होस् वा स्वदेशमै श्रम गर्दा। राम्रो आम्दानी होस् भनेर पोलिटेक्निक कलेज खोल्ने सोच बनाएको छु।’

चौरासियालाई चुनौती दिन एमाले नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता कुर्मी भने नवप्रवेशी हुन्। कुर्मी केही दिनअघि मात्रै आफू आबद्ध रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए। उनी प्रतिनिधिसभा सदस्यका लागि पहिलो पटक चुनावी मैदानमा छन्। कुर्मी लोकतान्त्रिक समाजवादी पार्टीमा रहेको अवस्थामा अधिवक्ताको रूपमा काम गर्दै आएका थिए। कुर्मी राप्रपा पर्साका पुरान नेता स्व.गोकुलप्रसाद कुर्मीका छोरा हुन्।

बुबा राप्रपामा भए पनि कुर्मीले राजनीति नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए। उनी नेपाल विद्यार्थी संघको राजनीति छाडेर सद्भावना पार्टीमा आबद्ध थिए। कुर्मी पछि लोसपा हुँदै जसपा आएका हुन्। 

कुर्मीले राजनीतिमार्फत सामाजिक क्रान्ति गर्ने लक्ष्य आफूले लिएको बताए। उनले भने, ‘घरदैलो गर्दा जनताको व्यथा विकराल देखेको छु। नेताहरू आउँछन्, भोट लिएर जान्छन्। पाँच वर्ष हराउँछन् भन्ने जनगुनासो छ। मैले जितेपछि त्यो गुनासो गर्नुपर्ने अवस्था आउन दिन्नँ।’ उनले यो क्षेत्रको शैक्षिक सुधारलाई अगाडि बढाउने योजना रहेको बताए। 

जसपा र एमालेमा भाँडभैलो 
गत स्थानीय तह निर्वाचनमा लोसपाका उम्मेदवार वीरगन्ज महानगरका उप–प्रमुख पुरुषोत्तम लाललाई हराउन लागेको भन्दै लोसपा जिल्ला समितिले करबाहीको सिफारिस गरेपछि सुरेन्द्रप्रसाद कुर्मी जसपाका प्रवेश गरेका हुन्। चुनावको मुखमा पार्टी प्रवेश गरेका कुर्मीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएपछि जसपामा भाँडभैलो भएको छ। यसले गर्दा क्षेत्र–२ बाट पहिलो संविधानसभामा निर्वाचित करिमा बेगम पनि चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्य भएकी उनी जसपामा आबद्ध थिइन् र टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। 

जसपाबाटै यो क्षेत्रमा मुकेश द्विवेदी, रुपेशमान सिंहले पनि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। रुपेशमान सिंह वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका भतिजा हुन्। पर्सामा एमालेले जसपासँग गठबन्धन गरेपछि असन्तुष्टि चुलिएको छ। स्थानीय तह निर्वाचनको समय जसपाका वीरगन्जका तत्कालीन मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरे। उनी पनि पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका आकांक्षी थिए। तर उनले टिकट पाएनन्। एमालेले जसपासँग गठबन्धन गरेपछि यो क्षेत्र जसपाका भागमा परेको हो। 

उता, पर्सा क्षेत्र–१ पनि एमालेले जसपालाई दिएपछि धेरै एमाले नेता÷कार्यकर्ताले एमाले छाडेका छन्। 

कांग्रेसमा विवाद कम 
कांग्रेस पर्साको क्षेत्र–१ मा अलि बढी देखिए पनि अन्य क्षेत्रमा खासै विवाद छैन। पर्सा क्षेत्र–१ मा पूर्वसभापति अजय द्विवेदीले सो निर्वाचन क्षेत्र गठबन्धन गर्दा लोसपाको भागमा परेकाले विद्रोह गरेका कारण विवाद देखिएको छ। तर अन्य क्षेत्रमा खासै विवाद देखिएको छैन। पर्साको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा खासै कसैको दाबी देखिएको थिएन। 

प्रदेशसभामा यस्तो लडाइँ
पर्साको यो क्षेत्रको प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनबाट कांग्रेसका श्याम पटेल, जसपा–एमाले गठबन्धनबाट जसपाका रामनरेश यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ को चुनावमा प्रदेशसभाको यो क्षेत्रबाट कांग्रेसका राजेश्वर साह तेलीले चुनाव जितेका थिए। यस पटक उनले टिकट पाएनन् र उनको ठाउँमा कांग्रेसले पटेललाई उम्मेदवार बनाएको छ। जसपाबाट उम्मेदवार भएका रामनरेश यादव सो पार्टीका जिल्ला अध्यक्ष हुन्। उनी मधेस आन्दोलनअघि कांग्रेसमा थिए। पछि उनी जसपामा प्रवेश गरी २०७४ को चुनावमा १८० मतले तेलीसँग पराजित भएका थिए।

क्षेत्र–२ को (ख) मा सत्तारुढ गठबन्धनबाट लोसपाका रमेशप्रसाद कुर्मी, जसपा–एमाले गठबन्धनबाट एमालेका हरेरामप्रसाद पटेल, राप्रपाका परमानन्द साह कानु र स्वतन्त्रबाट करिमा बेगम, मुकेश द्विवेदी, रुपेशमान सिंहलगायत १४ जनाको उम्मेदवारी छ। यो क्षेत्रबाट यसअघि लोसपाका रमेशप्रसाद कुर्मी विजयी भएका थिए भने उनी अहिले पनि उम्मेदवार छन्। 

स्थानीय तह चुनावको नतिजा 
पर्सा क्षेत्र–२ मा गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा  कांग्रेस पहिलो पार्टी बनेको छ। दोस्रो एमाले र तेस्रो जसपा देखिन्छ। कांग्रेसको २० हजार ८१९, एमालेको १६ हजार ९३५, जसपाको १५ हजार ३२८, लोसपाको ३ हजार ३१३, नेकपा एसको २ हजार ९२ र माओवादीको १ हजार ९९५ मत देखिन्छ।

पर्साको यो क्षेत्रमा कांग्रेसको नेतृत्वमा लोसपा, नेकपा एस र माओवादी केन्द्रबीच गठबन्धन छ भने एमाले नेतृत्वमा एमाले र जसपाबीच गठबन्धन छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत २८ हजार २१९ हुन्छ। एमाले नेतृत्वको गठबन्धनको मत ३२ हजार २६३ हुन्छ। कांग्रेस नेतृत्वको गठबन्धनभन्दा एमाले नेतृत्वको गठबन्धनको मत ४ हजार ४४ बढी हुन्छ।

प्रकाशित: Nov 17, 2022| 17:08 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।