भरतपुर- यही मंसिर ४ गते हुने निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीको मागसहित दुईवटा उजुरी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध विदेशी नागरिकता लिएर नेपाली नागरिकता त्याग नगरी उम्मेदवारी दर्ता गराएको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको निर्वाचन अधिकृत रितेन्द थापाले जानकारी दिए।
'उहाँविरुद्ध परेको दुईवटै उजुरीमा नेपाली नागरिकता लिइसकेपछि अमेरिकामा गएर पनि नागरिकता लिएको, त्यहाँ नागरिकता लिएको हुनाले यहाँको नागरिकता खारेज हुनुपर्नेमा नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै खारेजीको माग गरिएको छ,' चितवन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत थापाले उजुरीबारे जानकारी दिँदै भने। उजुरीकर्ता चितवन र नवलपुरका रहेका उनले बताए। निर्वाचन आयोगको ऐनको दफा (९) बमोजिम उजुरीबारे निर्वाचन अधिकृत कार्यालय क्षेत्र नम्बर २ मा आयोगबाट पत्राचार आइसकेको उल्लेख गर्दै उनले बुधबार सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण सोधी आयोगमा पठाउने तयारी गरिएको बताए।