काठमाडौं– बागमती नदी किनारलाई कब्जा गरी अवैध घरटहरा बनाएर बसिरहेका सुकुम्बासीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिविरुद्ध आन्दोलन सुरु गरेका छन्।
समितिले बागमती नदी किनारमा अवैध रूपमा बनाइएका घरटहरा हटाउन १० दिने सूचना जारी गरेको थियो। मंगलबार सुकुम्बासीले समितिको कार्यालय घेराउ गरेका हुन्।
सुकुम्बासीले बागमती नदी किनार कब्जा गरी बनाइएका घरटहरामा बस्न पाउनुपर्ने मागसहित आगामी १ मंसिरमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने बताएका छन्। सरकारले बागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका हुन्।
समितिले गत शुक्रवार सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासीले अटेरी गर्दै आन्दोलन गरिने चेतावनी दिएका छन्।