काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा अन्य निर्वाचन क्षेत्रजस्तै काठमाडौं–१ मा पनि राप–ताप बढिरहेको छ। ४५ हजार १८ मतदाता रहेको काठमाडौं–१ लाई देशभरमै महत्वको क्षेत्र मानिन्छ। किनभने, यही क्षेत्रमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।
त्यसबाहेक काठमाडौं–१ ले सबैको ध्यान सधैं तान्नुको कारण यो क्षेत्रमा बौद्धिक र पढेलेखेका मतदाता बढी रहेको बताइन्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउनका लागि यो क्षेत्रको युवा मतदाताको उल्लेखनीय भूमिका छ।
प्रतिनिधिसभामा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन्। यसपटक पनि उनी चुनावी मैदानमा छ। सिंहसँग भिडिरहेका छन् एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, स्वतन्त्र पार्टीका पुकार बम, सुशासन पार्टीका रमेश खरेललगायत।
३१ जना उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा एमालेका पौडेल पनि बलियो उम्मेदवारका रुपमा देखिएका छन्। लामो समयदेखि सांसद रहेका सिंहप्रतिको असन्तुष्टि र अन्य उम्मेदवारहरुले उनको मत काट्ने अवस्थामा त्यसको फाइदा एमालेका पौडेलले पाउन सक्ने देखिन्छ। २० वर्षदेखि शंखमूलमा बस्दै आएका उनी स्थानीयका मर्दापर्दाका साथी पनि हुन्। २०७२ को भूकम्प, कोभिड–१९, काठमाडौंमा चुलिएको फोहोरमैलाको विकराल समस्याविरुद्ध दबाबमूलक सरसफाइ अभियान र डेंगु सचतेना तथा लामखुट्टे नियन्त्रण अभियानमा उनले खेलेको भूमिकाले पनि धेरैको मन जितेको छ।
एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष पौडेल मतदातामाझ आफूलाई एमाले पार्टीको मात्रै नभएर युवाहरुको सोचको प्रतिनिधित्व गर्ने उम्मेदवारका रुपमा चिनाइरहेका छन्।
अंकगणित हेर्ने हो भने काठमाडौं–१ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेसको ९ हजार ८ सय ९५ भोट छ, जुन एमालेले ल्याएको भोटभन्दा ३५४ ले मात्रै बढी हो। एमाले वडाध्यक्षरुले यो क्षेत्रमा ९ हजार ५ सय ४१ मत पाएका थिए। यो निर्वाचन क्षेत्रमा राप्रपाका वडाध्यक्ष उम्मेदवारले पाएको मत १ हजार ३ सय ७६ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार १ सय ५९ मत मात्रै पाएका थिए।
स्थानीय तहको मतदानको आँकडालाई विश्लेषण गर्ने हो भने गठबन्धनको मत जोड्दा पनि प्रकाशमान ‘कम्फर्ट जोन’मा देखिँदैनन्, किनभने एमालेसँग कांग्रेस नेतृत्वको गठबन्धनको मत १ हजार ७ सय ३० ले मात्रै बढी छ। एमाले उम्मेदवार पौडेलले स्थानीय तहमा आफ्नो वडाध्यक्षले पाएको मत मात्रै ‘इन्ट्याक्ट’ राख्न सकेमा उनी विजय नजिक देखिन्छ।
बढी मत भएर पनि प्रकाशमानलाई आफ्ना मतदातालाई कायम राख्न गाह्रो निश्चितप्रायः देखिन्छ। यसमा उनले लामो समयदेखि जित्दै आए पनि संसद्को नीति निर्माण तहमा खेलेको कमजोर भूमिका, काठमाडौंमा रहेको गगन भर्सेस प्रकाशमान फ्याक्टर र उनको आन्तरिक पार्टी राजनीतिमा महाधिवेशनको भूमिकालाई कारक मानिएको छ। गत निर्वाचनमा प्रकाशमानका मुख्य प्रतिस्पर्धी रहेका रवीन्द्र मिश्रलाई कतिपयले पछिल्लो समय उनको विवेकशील साझा हुँदै राप्रपामा पुगेर राजा बोक्ने यात्रालाई रुचाएका छैनन्।
यो ढुलमुलबीच एमालेका उम्मेदवार किरण पौडेल युवा मतदातालाई आफू युवाहरुको सिर्जनशील प्रतिभा भएको भन्दै मत मागिरहेका छन्। पार्टीको मात्र नभएर युवाको उम्मेदवार भएको उनको राजनीतिक फर्मुलाले थोरैमात्र काम गरेमा र स्थानीय तहमा एमालेका वडाध्यक्षलाई खसेको भोट कायम राख्न सकेमा उनले जित्ने सम्भावना प्रबल देखिन्छ।