काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ लाख नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नाम भएका साढे २ लाख मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर थप भएका छन्।
आगामी ४ मंसिरको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन्। १८५ जना अन्य लिंगी रहेका छन्।
गत वैशाखको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला थिए। अन्य १८३ जना थिए।
६ महिनाअघिको निर्वाचनको तुलनामा यस पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएका छन्। आयोगका उपसचिव कमल भट्टराईले ६ महिने अवधिमा करिब ५ लाख नयाँ मतदाता थपिएको जानकारी दिए।
६ महिने अवधिमा मृत्यु भएका, दोहोरो परेका र बसाइँसराइलगायतका कारण अद्यावधिक नभएका विवरण अद्यावधिक गरिएकाले करिब साढे २ लाख पुराना मतदाता घटेका छन्।
आयोगले स्थानीय तह निर्वाचनभन्दा १३६ मतदान स्थल र २७२ मतदान केन्द्र थपेको छ। एउटा मतदान स्थलमा १ हजार बढी मतदाता भए मतदान केन्द्र थप हुने व्यवस्था छ।
वैशाखको स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल रहेकामा अहिले बढाएर १० हजार ८९२ बनाइएको छ। त्यसैगरी यसअघि २१ हजार ९५५ मतदान केन्द्र रहेकामा अहिले बढाएर २२ हजार २२७ केन्द्र पुर्याइएको छ।