नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए।
अध्यक्ष तामाङका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव आज साँझ ७ बजे भेटिएको हो।
प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।