काठमाडौं– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ४ मंसिरको चुनावपछि पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन्। सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले चुनावपछि सत्ता गठबन्धनभित्र अबको प्रधानमन्त्री देउवा बन्ने विषयमा विवाद नरहेको बताएका हुन्।
उनले भने, ‘भोलिका दिनमा स्वाभाविक रूपमा कांग्रेसबाट देउवाको नेतृत्वमा सरकार बन्ने हो। ‘कति वर्ष उहाँ प्रधानमन्त्री बन्ने समझदारीबाट जाने कुरा हो। सबै दलसँग छलफल गरेर यो विषय पछि टुंगो लगाउँछौं।’
पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी चुनावमा कांग्रेसले ९१ प्रतिनिधिसभा क्षेत्र प्रदेशसभातर्फ १५२ सिटमा उम्मेदवारी दिएको बताए। कांग्रेस प्रवक्ताले आगामी निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्ने बताइरहेका बेला महामन्त्री गगन थापा, शशांक कोइराला, प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्।
चुनावमा प्रधानमन्त्री भनेर जसलाई प्रचार गर्न मन लागेको छ, उनीहरूले गरिरहेको प्रतिक्रिया उनले दिए। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि समझदारीमा जान चाहेको र प्रधानमन्त्री दाबी नगरेकोले देउवा नै अबको प्रधानमन्त्री हुने महतले सुनाए।
कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्तिलाई सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरेको छ।