भरतपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई भोट मागेका छन्। आज भरतपुरमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले र आफूहरुले समर्थन गरेका उम्मेदवार कोइरालालाई मतदान गर्न आग्रह गरे।
‘उहाँ राजनीति गरेर जिल्लाको नेतृत्व गरेर आएको व्यक्ति हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति हो। मैले विश्वास लिएको छु उहाँले स्थिरता र स्थायित्वको लागि काम गर्नुहुनेछ। माछा चुनाव चिन्हमा उहाँलाई अत्यधिक मतले यस क्षेत्रमा जिताइदिनुहोला,’ उनले भने।
अध्यक्ष ओलीले चितवनबाट हार्ने डरले प्रचण्ड भागेको संकेत गर्दै भने,‘चितवनले जानेको रहेछ केही नगरी कसलाई भगाइदिनुपर्छ थाहा रहेछ। हार्ने भागिसके, जित्ने यहिँ छन्।’ अध्यक्ष ओलीले आफ्नो पार्टीले घोषणापत्रमा विगत र भविष्यमा गर्ने कुरा बताएको उल्लेख गरे।
‘हामी कसरी अगाडि बढ्छौं भनेर हाम्रो घोषणापत्रमा भनेका छौं। हामीले देशलाई कता लैजाने के गर्ने मंसिर ४ पछि एमाले सरकार बनेर के गर्छ भन्ने कुरा २० ग्यारेन्टीमा भनिसकेका छौं।’ उनले गठबन्धनको घोषणापत्र कार्यान्वयन नभएर जनता ढाँट्नका लागि बनाएको आरोपसमेत लगाए। उनले गठबन्धनका पार्टीले छुट्टै घोषणापत्र जारी गरेकाले लागू हुन नसक्ने जिकिर गरे।