शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पर्वतमा कांग्रेसका जोशीलाई गठबन्धनको आश, एमालेका गिरीलाई आफ्नैको त्रास

पर्वतमा कांग्रेसका जोशीलाई गठबन्धनको आश, एमालेका गिरीलाई आफ्नैको त्रास

पर्वतमा पाँचौं पटक चुनावी मैदानमा उत्रिएका कांग्रेसका अर्जुनप्रसाद जोशीले एमाले घरझगडाको लाभ आफूले पाउने हुँदा जित निश्चित भएको बताउँछन् भने एमाले उम्मेदवार पद्म गिरीले पाँच वर्षमा पर्वतमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाले आफ्नो जित हुने दाबी गर्छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

खिला कार्की

खिला कार्की

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ कै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनः चुनावी मैदानमा उत्रिएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा एमालेका पदम गिरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

triton college

प्रतिनिधिसभाका लागि जोशी र गिरीसहित पर्वतमा १२ जना उम्मेदवार छन्। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गिरीले ३९ हजार २७५ मत पाएर प्रतिस्पर्धी जोशीलाई पराजित गरेका थिए। जोशीले २०७४ को निर्वाचनमा २६ हजार ८१९ मत प्राप्त गरेका थिए । जोशीलाई गिरीले १२ हजार ४५६ मत अन्तरमा पराजित गरेका थिए। त्यसबेला गिरी माओवादीसहितको वाम गठबन्धनका साझा उम्मेदवार थिए। तर अहिले माओवादीसहितका गठबन्धन दलको साथ जोशीलाई छ। यस पटक जोशीलाई माओवादीको साथ मात्र होइन, एमाले विभाजनको फाइदा पनि छ। २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एउटामा एमालेका उम्मेदवार विकास लम्साल र अर्कोमा माओवादीका नेत्रनाथ अधिकारी निर्वाचित भएका थिए। 

कांग्रेस उम्मेदवार जोशीले वाम गठबन्धनसँग एक्लै चुनावमा भिड्दा ठूलो मतान्तरले हारे पनि अहिले त्यतिबेला वाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी र जनमोर्चा साथमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। जोशीले आफू सांसद हुँदा धेरै गाउँमा बिजुली नभएको, सडकको ट्रयाक नखोलिएको अवस्थामा २०७० सम्म बिजुलीको पहुँच बढाउने काम गरेको सडक, खानेपानीका लागि काम गरेकाले जनताले विश्वास गर्ने बताए। उनले भने, ‘म सांसद हुँदा धेरै गाउँमा बिजुली थिएनन्। सडकको ट्रयाक खोलिएका थिएनन्। २०७० सम्म सबै ठाउँमा बिजुलीको पहुँच बढाउने काम भयो। खानेपानी सापटी मागेर खानुपर्ने अवस्था थियो। अहिले पर्वतका घरघरमा धारा पुगेको छ। पहिले मेरो प्राथमिकता गाउँको विकास मात्र थियो, अब रोजगारीमा ध्यान दिनेछु।’ 

एमाले उम्मेदवार गिरीले आफू संघीय सांसद र गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष भएका बेला जिल्लामा पूर्वाधार क्षेत्रका आवश्यक योजना पार्न सफल भएकाले पर्वतबासीले विश्वास गर्ने बताए। २०७४ सम्म पोखरा–बागलुङ राजमार्गको दुई किलोमिटर कालोपत्रे सडक मात्र रहेकामा पर्वतमा अहिले ११८ किलोमिटर कालोपत्रे भइसकेको र ८० किलोमिटर सडक कालोपत्रे हुने चरणमा पुगेको उनको दाबी छ। यी सबै काम आफूले पाँच वर्षे कार्यकालमा गरेको गिरीले बताए।

एमाले नेतृत्वको सरकारका बेला  पर्वतमा भएका विकास निर्माणका कामका आधारमा यस पटक पनि एमालेलाई जनताले बहुमत दिने उनको बुझाइ छ। उनले भने, ‘एमाले नेतृत्वको सरकारका पालामा भएको विकास निर्माणका कामलाई हेरेर पर्वतबासीले एमालेलाई भोट दिन्छन्। २०७४ सम्म पोखरा–बागलुङ राजमार्गको दुई किलोमिटर कालोपत्रे सडक थियो। अहिले ११८ किलोमिटर कालोपत्रे भइसकेको छ। ८० किलोमिटर सडक कालोपत्रे हुने चरणमा छ।’

corrent noodles
Metro Mart

एमालेमा गुटबन्दी मौलाउँदो 
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका गिरी एमाले अध्यक्ष ओलीको कृपाले जिल्ला सदस्यबाट अध्यक्ष बनाइए। गिरी पर्वत एमाले अध्यक्ष बनेसंगै भूमिगत कालदेखि दुःख–कष्ट सहेर राजनीतिमा लागेका पुराना स्थापित नेताहरू उनीसँग सन्तुष्ट हुन सकेनन्। सोही कारण गिरी अध्यक्ष बनेसँगै पर्वत एमाले गुटको चक्रव्यूहमा फसेको छ। जिल्ला अध्यक्ष, सांसद, मन्त्रीसमेत बनेका विकास लम्साल र उनीबीच समेत राम्रो सम्बन्ध नभएको एमाले नेताहरू बताउँछन्। पर्वतमा नेतृत्व आफ्नो पक्षमा पार्न लम्साल र गिरीले आ–आफ्नो गुट चलाइरहेका छन्। दुई नेताका बीचमा चरम गुटबन्दी भएपछि जिल्लाका अन्य नेताहरूसमेत बिच्किएका छन्। 

यसको मारमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना परेका थिए। पर्वतमा पञ्चायतकालमा पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेलेका तिमिल्सिनालाई उनीहरूले विस्थापित गरेसँगै उनी राजनीतिमा निष्कृय भएर पोखरा झरेका थिए। पर्वत एमालेको राजनीतिबाट विस्थापनको पीडामा वर्षौं बिताएपछि अध्यक्ष ओलीको कृपामा उनले राष्ट्रिय सभाको अध्यक्ष बन्ने मौका पाए। पर्वतमा गुटगत राजनीतिका कारण गणेशप्रसाद शर्मा, मोती पौडेल, भक्त कुँवर, कृष्णप्रसाद भट्टराईलगायतका नेता पीडित रहँदै आएका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा समेत लम्साल र गिरी दुवैलाई कुश्मा र फलेवास नगरपालिकामा अन्तरघात गरेको आरोप लागेको छ। लम्साल र गिरीले स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी पदम शर्मा र गणेश शर्मालाई हराउन भूमिका खेलेको एमाले नेता÷कार्यकर्ताको आरोप छ।

कांग्रेसमा गुटबन्दी केही मत्थर 
कांग्रेस पर्वतको १६ वर्ष नेतृत्व गरेका जोशी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्।  उनले २०४८ देखि २०६४ सम्म कांग्रेस पर्वतको सभापति भएर काम गरे। सुरुमा कांग्रेस कोइराला समूह निकट जोशी १३औं महाधिवेशनदेखि सभापति शेरबहादुर देउवा समूहमा छन्। १४औं महाधिवेशनमा देउवा समूहबाट गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका जोशी शुक्रराज शर्मासँग पराजित भए। उनले विगतमा पर्वतमा तीन पटकसम्म संसदीय निर्वाचन जितेका थिए।

जोशी पहिलो पटक २०५६ को संसदीय निर्वाचनमा पर्वत क्षेत्र–१ बाट विजयी भएका थिए। त्यसैगरी २०६४ को संविधानसभा निर्वाचनमा जोशीले तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरुपा सुवेदीलाई पराजित गरेका थिए। पर्वतका बासिन्दा जोशीलाई कुशल राजनीतिक खेलाडीका रूपमा लिन्छन्। उनले प्रतिकूल परिस्थितिमा पनि चुनावमा जित्न सक्छन् भन्ने धेरैको बुझाइ छ।

जोशीले २०७० मा माओवादीका उम्मेदवार नेत्र अधिकारीलाई पराजित गरी लगातार तीन पटक निर्वाचन जितेका थिए। चौथो पटक २०७४ मा भने जोशी एमाले उम्मेदवार गिरीसँग पराजित भए। जोशीको यो पाँचौं पटकको उम्मेदवारी हो। शक्तिको आडमा पटक–पटक सत्ता र शक्ति आफूमा केन्द्रित गरेको आरोप जोशीमाथि लाग्ने गरेको थियो। तर यस पटक कांग्रेसभित्रको गुटबन्दी केही मत्थर भएको देखिन्छ।

जोशीसँग असन्तुष्ट पर्वत कांग्रेसका पूर्वसभापति एवं प्रभावशाली नेता नवराज गुरुङसँग समेत उनको निरन्तर टकराव छ। तर यस पटक गुरुङको असन्तुष्टिलाई पनि जोशीले व्यवस्थापन गरेका छन्। गुरुङबाहेक डा. शेखर कोइराला समूहमा रहेका नेताहरू लालकाजी गुरुङ, खगेन्द्र तिवारी, कुश्मा नगरका मेयर रामचन्द्र जोशी, ऋषिकेश तिवारीलगायत नेताहरू जोशीको पक्षमा देखिएका छन्। यो समूहबाट ऋषिकेश तिवारी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्। 

प्रदेशसभामा प्रायः सबै नयाँ अनुहार 
पर्वतमा प्रदेशसभाका लागि सबैजसो नयाँ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको प्रदेशसभा १ ‘क’ मा पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवार मात्रै होइन, चुनावी मैदानमा रहेका सबै उम्मेदवार नयाँ छन्। २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका उम्मेदवार विजयी भएको दुवै प्रदेशसभा क्षेत्रमा यस पटक पाँच दलीय गठबन्धन र एमाले उम्मेदवारबीच कडा टक्कर देखिएको छ।

प्रदेशसभा ‘क’ मा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका  सुदीप कुँवर र एमालेका भक्त कुवँरबीच प्रतिस्पर्धा हुँदै छ। कुँवरद्वय यसअघि कुनै पनि संसदीय र स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका थिएनन्। प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युवा प्रेमकमार गुरुङ, बीपी कांग्रेसबाट कमलराज पौडेल, हाम्रो नेपाली पार्टी रमेश पौडेल उम्मेदवार छन्। २०७३ मा प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट माओवादीका नेत्रनाथ अधिकारी र कांग्रेसका नवराज गुरुङबीचको प्रतिस्पर्धामा अधिकारीले जित निकालेका थिए। 

त्यसैगरी प्रदेशसभा ‘ख’ मा कांग्रेस र एमालेका पाका नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका पुराना नेता ऋषिकेश तिवारी र एमालेबाट पार्टीमा लामो समय योगदान दिएका मित्रलाल बस्याल प्रतिस्पर्धामा छन्। कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव रहिसकेका तिवारीले तत्कालीन समय छोटो अवधि संसद् पुनस्र्थापनाकालमा प्रतिनिधिसभा सदस्य बनेबाहेक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका छैनन्। २०४९ मा तत्कालीन मुडिकुवा गाविस अध्यक्ष निर्वाचित तिवारी कांग्रेसभित्र बौद्धिक र त्यागी नेताको रूपमा परिचित छन्। एमालेका बस्याल भने २०७४ को स्थानीय चुनावमा पैयुँ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। बस्याल  एमालेमा लामो योगदान गरेका नेता हुन्। 

२०७४ को प्रदेशसभा निर्वाचनमा एमाले  र माओवादी केन्द्रको गठबन्धनबाट संविधानसभा सदस्य विकास लम्साल र कांग्रेसका राजेन्द्र तिवारीबीचको प्रतिस्पर्धामा लम्सालले जित निकालेका थिए। 

प्रकाशित: Nov 15, 2022| 08:44 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।