काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आफूले चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन हुने र गठबन्धन दलहरुले ल्याएका घोषणापत्र जनता ढाँट्ने पुलिन्दाको बाकस भएको बताएका छन्। सोमबार चितवनमा भएको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरक–फरक घोषणापत्र ल्याएकाले कार्यान्वयन हुनै नसक्ने दाबी गरेका हुन्।
उनले भने, ‘अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनता ढाँट्न ल्याएका हुन्। गठबन्धन २० वर्षसम्म रहन्छ रे। कांग्रेसले एउटा घोषणापत्र जारी गरेको छ, माओवादीको अर्को, माधव नेपालको, लोसपाको अर्कै। एउटा भन्छ गणतन्त्र, अर्को होइन भन्छ। त्यसैमा झगडा हुन्छ।’
एमाले देश बनाउने गन्तव्य भएकाले आगामी चुनावमा मत दिन चितवनबासीलाई ओलीले आग्रह गरे। राम लक्ष्मण जन्मेको ठाउँमा रामजन्म भूमि ल्याउँदा माओवादी अध्यक्ष प्रचण्डबाट व्यक्त टिप्पणीप्रति लक्षित गर्दै उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुस्मनी गर्ने सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुस्मनी गर्ने सिद्धिन्छन्।’
प्रचण्डले गोरखामा चुनाव जित्ने अवस्था नदेखेपछि मान्छे कुट्न थालेको आरोप लगाए। गठबन्धन फुटेको हाडीको चोइटा भएकाले अस्पताल, स्कुल, बाटा बनाउने योजना काटेको र मुलुकलाई आर्थिक रूपमा टाट पल्टाउन उद्धत रहेको ओलीले आरोप लगाए।