काठमाडौं- सत्तारुढ गठबन्धनले सोमबार काठमाडौंको साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ।
साँखु बजारमा अपराह्न २ बजे शुरू हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ।
चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का सभापति कबीर शर्माले बताए।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौं–२ मा पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (१) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन्।