काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले २०७४ मा सिद्धिनै लागेको माओवादीलाई औंलो समाउन दिएर ३६ सिट जिताए पनि पुष्पकमल दाहाल प्रचण्ड आफैंमाथि खनिएको आरोप लगाएका छन्। आइतबार कालीकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘एमाले–माओवादी एउटै पार्टी भएपछि प्रचण्डलाई सह–अध्यक्ष बनाएर, छेउमै राखेर डुब्न लागेको पार्टी जोगाइदिएको हो। देश बनाउने शक्ति निर्माण गरौं भनेर माओवादीलाई डो¥याएको थिएँ। तर पछि प्रचण्ड मुसोबाट सिंह बने।’
आफू पार्टीमा अल्पमतमा परेर पनि प्रचण्डलाई साथ दिएर हिँड्दा उल्टै धोका दिएको उनको छ। ‘केन्द्रीय कमिटी सचिवालय र सबै कमिटीमा म आफैं अल्पमतमा पर्ने गरी उनीहरु (प्रचण्ड)लाई ठाउँ दिएको थिएँ। तर पार्टीमा बहुमत पाउनेबित्तिकै लोभीपापी भएर मलाई सक्ने खेल थाले। मुसाहरु सिंह भएर मैमाथि खनिए,’ ओलीले भने।
एक जोगीले मुसालाई सिंह बनाउँदा आइपरेको आपद्जस्तै आफूलाई पनि त्यस्तै संकट प्रचण्डले निम्त्याइदिएको ओलीले सुनाए। ‘मैले माओवादी सिद्धिनै लागेका बेला साथ दिएँ, हात दिएँ, पार्टी एकीकरण गरें तर उनीहरुले सहमति तोडे। मलाई नै अल्पमतमा पार्ने गरी अघि बढे,’ ओलीले आक्रोश पोखे।