काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई ४ मंसिरमा हुने चुनावमा जमानत जफत गरेर पठाइदिन मतदातालाई आग्रह गरेका छन्।
शनिबार डोटीको दिपायलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आलेको भाषणले अन्तर्राष्ट्रिय बेइज्जत भए पनि मन्त्रीबाट हटाउन ‘लुते’ नेताहरूले नसकेको पनि बताए।
उनले भने, ‘मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति, डोटीको मात्र बेइज्जत होइन, सिंगै सभ्यताको, भाषा, संस्कृतिको बेइज्जत भयो। नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो। विश्वभरबाट के हो यस्तो मन्त्रीको भाषण, मन्त्री राजीनामा गर्दैन, उसलाई हटाउन लुते नेताहरू सक्दैनन् भन्ने सुनियो।’ उनले आले पुनः टपरी गाँसेको, विभिन्न खपटा जोडेर बनेको पार्टीबाट उम्मेदवार बनेको दाबी गरे।