काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हथौडा र रुखबीच सम्झौता भएरै देशमा गणतन्त्र र नयाँ संविधान ल्याउन सकिएको बताएका छन्।
शनिबार चुनाव प्रचारका लागि गोरखाको पालुङटार नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डेले यस्तो बताएका हुन्।प्रचण्ड गोरखा क्षेत्र–२ का प्रतिनिधिसभा उम्मेदवार हुन्।
प्रचण्डले अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए। कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुवै दल मिलेर गर्न सहज हुने प्रचण्डको भनाइ छ।
उनले भने, ‘राजनीतिक परिवर्तन भयो तर जनताले अनुभूत गर्ने गरी आर्थिक समृद्धि हुन सकेन। अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्ने सहमति गठबन्धनका नेताबीच भएको छ।’
उनले लामो समयदेखि बन्द पालुङटार विमानस्थल सञ्चालन गरिने बताए। आचारसंहिता लाग्ने हुँदा निर्वाचन सकिनेबित्तिकै विमानस्थल पुनः सञ्चालनमा ल्याइने प्रतिबद्धता उनले जनाए।