सोमबार, असार ८, २०८३

नेपथ्यको नयाँ गीत ‘भट्भटे’ सार्वजनिक ‍[भिडियोसहित]

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- संगीतले सबैखाले मनस्थितीलाई सिर्जनाबाट अभिब्यक्त गरेको छ। उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन्। नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ –

National life

‘भटटट भटटट भट्भटे आयो

बाटो छोड् छोड् छोड्’

धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ। अर्थात्, अब तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ।

छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो। तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्‍यो। दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो।

Shivam cement

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ। यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ। अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन्।

यस गीतको एउटा अन्तराले भन्छ –

‘कुजिएका स्वरहरु एकत्रित भइजाऊ

मनदेखि मनसम्म

सडकदेखि सदनसम्म

एकत्रित भइजाऊ है भइजाऊ’

राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ। यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन्।

‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दैआएको हुँ,’ अमृत भन्छन्, ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु।’ ‘लेख्दै जाँदा यसमा हालको राजनीति, देश र कालप्रतिको जन असन्तुष्टि पनि झल्कन पुग्यो,’ उनी रचनागर्भबारे भन्छन्, ‘नेपालका सदन र सडक दुवै भद्रगोल हुँदै गइरहेको बेला मैले सडकको आवाज मार्फत् परिस्थितीको वर्णन गरेको हुँ।’ यसमा अलिकता हल्ला र अलिकता विद्रोहको झलक पनि आएको उनले स्पष्ट पारे। गीतको एक ठाउँमा गायकले चिच्याएरै संवाद गरेका छन्।

अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे। त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महशुस हुन्थ्यो। खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टी थियो। यदाकदा त्यसले अराजकतातर्फ पनि लैजान्छ। मोटरसाइकल हाँक्दाको उन्मुक्तता चाहिँ यसै गीतमा प्रतिविम्वित हुनपुगेको उनी बताउँछन्। सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ।

यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ। 

गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ। भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ। कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ। यो लश्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ। गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ।

सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन्। क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन्। यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ। म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ। यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन्।

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।

प्रकाशित: Nov 11, 2022| 15:27 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।