काठमाडौं- संघीय राजधानीको मुुटु बागमती प्रदेश काठमाडौं क्षेत्र–१ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कलाकार सम्राट सापकोटा घरदैलो कार्यक्रममा व्यस्त छन्। प्रदेशसभा ‘क’तर्फ काठमाडौं महानगरका १०, ११ र २९ वडाका मतदातालाई सोध्छन्– के यो देशलाई संघीयताको खाँचो छ?
उनी संघीयता खारेजीबारे बुझाउन थाल्छन्, ‘यो देशलाई प्रदेशसभाको संरचना चाहिँदैन। सानो मुलुकमा संघीय संरचना सुहाउँदैन। यो राजनीतिक दलका कार्यकर्ताको चित्त बुझाउन खोजिएको चलाखी मात्रै हो। बरु यसले सरकारी ढुकुटी रित्याउने काम गरेको छ।’
कलाकार स्रमाट सापकोटा बाल्यकालदेखि नै अभिनय गर्थे। काठमाडौं घट्टेकुलोका स्थायी बासिन्दा सापकोटाको प्रतिनिधिसभामा नगई प्रदेशसभाका लागि उम्मेदवार दिनुको एउटै कारण हो, प्रदेश संरचनाको खारेजी।
चार दशकदेखि नेपाली फिल्म तथा नाट्य क्षेत्रमा सक्रिय सम्राट फिल्ममा अभिनय गरेर दर्शकलाई खुसी पारेजस्तै राजनीतिमार्फत देश र जनतालाई खुसी पार्न निर्वाचनमा होमिएको बताउँछन्।
आफ्नो उम्मेदवारी पछिल्लो समय देखिएको स्वतन्त्रको लहडजस्तो नभएको उनको भनाइ छ। २०४६ को जनआन्दोलनमा सहभागी भएदेखि नै राजनीतिक चेत आएको बताउने सापकोटाले अहिले आएर त्यो चेतलाई ठोस अवस्थामा रुपान्तरण गर्न प्रत्यक्ष राजनीतिमा होमिएको बताउँछन्।
‘प्रदेश खारेजीको आवाजलाई बुलुन्द बनाउनकै लागि प्रदेशसभामा उम्मेदवारी दिएको हुँ’, किशोर उमेरमा नाटक खेल्न स्वरसम्राट नारायणगोपाललाई अन्तर्वार्ता दिएर मन जितेको सम्झिँदै उनले भने।
चार दशकदेखि नेपाली फिल्म तथा नाट्य क्षेत्रमा सक्रिय सम्राट फिल्ममा अभिनय गरेर दर्शकलाई खुसी पारेजस्तै राजनीतिमार्फत देश र जनतालाई खुसी पार्न निर्वाचनमा होमिएको बताउँछन्।
‘प्रदेशसभामा चुनिएँ भने मेरो आवाज सधैं त्यही नै रहन्छ। म त्यहाँ गएर भन्नेछु– प्रदेश हामीलाई चाहिएको छैन। यसबाट कुनै फाइदा छैन । यसले डुबाउने मात्रै काम गर्छ,’ उनले नेपाल समयलाई भने।
प्रदेश खारेज नभएसम्म देश सीमित व्यक्तिबाट लुटिइरहने उनी बताउँछन्। उनी भन्छन्, ‘प्रदेशलाई हटाउनुप¥यो भन्ने एक जना मै छु। विस्तारै मेरो भनाइलाई साथ दिने अरू पनि आउनेछन्।’
बच्चा बोकेकी आमा चुनाव चिन्ह पाएका सापकोटाले मुलुकका लागि अनावश्यक आर्थिक भार थोपरिरहेको प्रदेश संरचना खारेजीलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएको बताउँछन्।
वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको गुरुकुलमा दीक्षित सापकोटाले अनगन्ती नाटक गरेका छन्। राजनीतिबाट पनि देश बनाउने काम गर्न सकिने उनको ठम्याइ छ। भन्छन्, ‘मुलुक सानो छ तर खर्च र हल्ला किन बढी? राजनीतिक दलका कार्यकतालाई भर्ती गर्ने बनाइएको प्रदेश खारेज हुनुपर्छ।’
विगतमा राज्यको ढुकुटी सिध्याउने काम मात्रै भएकाले त्यसविरुद्ध रंगमञ्च र रजतपट छाडेर राजनीतिमा हाम फालेको उनी सुनाउँछन्।
मतदाताले नयाँ अनुहारलाई तत्कालै पत्याउँदैनन्। मतदाता पहिलेजस्तो नयाँलाई झट्ट विश्वास पनि गर्दैनन्। तर सापकोटाका अनुसार नयाँ अनुहार मात्रै नभएर नयाँ योजना र सम्भावना बोकेर जनतामाझ पुगेको जिकिर गर्छन्। उनी भन्छन्, ‘म निकै आशावादी छु, जनताले नै मलाई उत्साहित बनाउनुभएको छ। साथ र समर्थन दिनुभएको छ।’
२०५५ तिर ‘राजकुमार’, ‘प्रतीक्षा’, ‘कर्णवीर’ जस्ता चलचित्रबाट अभिनय यात्रा सुरु गरेका सापकोटाले तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन्। अभिनेत्री पूजा चन्द, करिश्मा मानन्धर, अभिनेता धीरेन शाक्य, राजेश हमाललगायत कलाकारसँग चलचित्रमा अभिनय गरेका सापकोटा यस पटक भने रजतपटक छाडेर राजनीतिको मैदानमा होमिएका छन्।
सापकोटा भन्छन्, ‘हाम्रो राजनीति दयनीय, विकृत, विसंगत र नाजुक अवस्थामा छ। अहिलेका ठूला भनिएका पार्टीबाट अपेक्षा गर्न सकिने ठोस संकेत छैन। त्यसैले मैले राजनीतिमा खुट्टा राखेको हुँ।’
साइक्लिङमा सोख भएका सापकोटाले काठमाडौं– १ क बाट सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठ र नेकपा एमालेका आत्माराम शर्मा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। भन्छन्, ‘जनताले मलाई जिताउनुहुनेछ। यो निर्वाचन क्षेत्रमा रहेको २६ हजार ४३५ मतमध्ये मैले अधिक मत ल्याएर जित्नेछु।’