आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चन्द्र भण्डारीले भने : बेइमान नेताका कारण नेपालको सबै क्षेत्र प्रताडित

चन्द्र भण्डारीले भने : बेइमान नेताका कारण नेपालको सबै क्षेत्र प्रताडित

आगामी निर्वाचनमा आफू निर्वाचित भए गुल्मीलाई नमुना जिल्ला बनाउने भण्डारीको प्रतिबद्धता।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– कांग्रेस नेता चन्द्र भण्डारीले मुलुकभित्र व्याप्त भ्रष्टाचारलाई आगामी निर्वाचनमार्फत निमिट्यान्न बनाउने शक्ति निर्वाचित हुनुपर्ने आवश्यकता औंल्याएका छन्। बिहीबार गुल्मी निर्वाचन क्षेत्र–१ ले काठमाडौंमा आयोजना गरेको वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रममा नेता भण्डारीले यस्तो बताएका हुन्। 

उनले भने, ‘नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो। आगामी निर्वाचनमार्फत भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्ति विजयी हुन आवश्यक छ। नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्छ।’

नेपालमा रोजगारी अवसर नखोजेर युवालाई विदेश पठाउन भूमिका खेल्ने जोसुकैलाई  निर्वाचनमार्फत जनताले अस्वीकार गर्नुपर्नेमा उनले जोड दिए। भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्र सुधार्ने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने धारणा व्यक्त गरे।

बेइमान नेताका कारण नेपालको राजनीतिदेखि लिएर सबै क्षेत्र प्रताडित हुनुपरेको उनको बुझाइ छ। नेता भण्डारीले मुलुकलाई दुरवस्थामा पु¥याउने नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताए। आगामी निर्वाचनमा आफू निर्वाचित भए कृषि र पर्यटनको सम्भावना रहेको गुल्मीलाई नमुना जिल्ला बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

गुल्मीको विकासका लागि आफू सांसद नभए पनि पहल गर्दै आएको र नीति निर्माण तहमा पुग्न सांसद हुनु अनिवार्य भएकाले त्यसका लागि निर्वाचनमा सक्दो सहयोग गर्न उनले आग्रह गरे। नेता भण्डारीले काठमाडौंमा विभिन्न पेसा, व्यवसाय गरी बसिरहेका गुल्मी क्षेत्र–१ का मतदाता, शुभेच्छुकलाई मतदानका लागि जिल्ला जान अपिल गरे। 

परिचयात्मक कार्यक्रममा प्रदेशसभा सदस्य क्षेत्र–१ ‘ख’ बाट उम्मेदवार रहेका धनेन्द्र कार्की तथा निर्वाचन क्षेत्र–१ ‘क’ बाट उम्मेदवारी दिएका माओवादी नेता सुदर्शन बराल पनि सहभागी थिए।

डा. केसीले दिए भण्डारीलाई अग्रिम जितको शुभकामना

सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र–१ बाट प्रतिनिधिसभा उम्मेदवार  डा. चन्द्र भण्डारीलाई जितको शुभकामना दिएका छन्। बिहीबार बिहान माइतीघरमा भएको भेटमा डा. केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र बेतिथि नियन्त्रणका लागि भण्डारीको जित महत्त्वपूर्ण हुने बताए।

डा. केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रुपापान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरुले निर्वाचन जित्नुपर्ने आवश्यकता औंल्याए।डा. केसीले भने, ‘तपाईंमा देशमा केही गरौं भन्ने तीव्र इच्छा देखेको छु। पार्टी राजनीतिभन्दा माथि उठेर देश हितमा लाग्ग सक्ने तपाईंजस्ता युवा नेता प्रतिनिधिसभामा आउनुपर्छ।’ 

डा. केसीले गुल्मीका मतदाताले भण्डारीको उचित मूल्यांकन गर्ने विश्वास व्यक्त गरे। आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै डा. केसीले भण्डारी पार्टी राजनीतिभन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने व्यक्ति भएकाले मात्र आफूले शुभेच्छा व्यक्त गरेको  बताए। सत्याग्रही डा. केसी नेपालमा चिकित्सा शिक्षा सुधारका लागि १९औं पटक आमरण अनशन बसिसकेका छन्।

भेटमा भण्डारीले मेडिकल शिक्षाको सुधारमा डा. केसीको संघर्ष र योगदानबाट आफू प्रभावित भएको बताए। उनले डा. केसीले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जाहेर गरे।

प्रकाशित: Nov 10, 2022| 15:38 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...