आइतबार, जेठ ३१, २०८३

निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता?

राजनीतिक दलप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य बढेको विश्लेषकको बुझाइ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेन्डा मतदाताका घरघर पुर्‍याउन दिनरात खटिएका छन्। 

National life

निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवारबीच नै हुने हो। तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाइएकाले यस पटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’को लहरै चलेको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौंमा बालेन साह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारको आकर्षक जित नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढाउन सहयोगी बनेको छ। 

राजनीतिक दलहरूप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता, कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य बढेको विश्लेषकको भनाइ छ। 

काठमाडौं उपत्यकाअन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटमा  कुल ३६० उम्मेदवारमध्ये १२८ जना स्वतन्त्र उम्मेदवार छन्, जुन ३५ दशमलव ५५ प्रतिशत हो। 

Shivam cement
राजनीतिक दलप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य बढेको विश्लेषकको बुझाइ।
त्यसैगरी तीन जिल्लामा प्रदेशसभाका ३० सिटका लागि ३४० जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन्। 

प्रतिनिधिसभाअन्तर्गत काठमाडौं क्षेत्र–७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढी छ। यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको संख्या १३ मात्रै छ। 

त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र–१ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन्। भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन्। 

स्वतन्त्रको लहर
ललितपुर निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेशकुमार केसी आफूहरूको लडाइँ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउँछन्। निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढ्नुको अर्थ राजनीतिक दलहरूको ‘सिन्डिकेट’को विरोध भएको उनको भनाइ छ। 

‘राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरू अगाडि आउनुपरेको हो। परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन’, उनले भने। 

केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्छन्।

‘म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,’ उनले भने, ‘अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ। सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो।’

यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइँसमेत भएको उनको बुझाइ छ। स्वतन्त्र उम्मेदवारहरूको देशैभरि फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उनले बताए।

केसीको प्रतिस्पर्धा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जनका साथै आफूजस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ। सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका महर्जनले २०७४ मा एमालेका उम्मेदवारका रूपमा २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका थिए। महर्जनसँग पराजित कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका थिए। 

त्यसैगरी काठमाडौं क्षेत्र–९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजेन्द्रप्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताउँछन्। लामो समय कानुन र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा छन्। 

‘स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेन्डामा छ’, उनले भने, ‘म निर्वाचित भए प्रत्येक महिनामा दुई पटक स्थानीय तहको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु।’

पाठक संघीय संरचना र धर्म निरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याएका छन्। लामो समयसम्म कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलमा आबद्ध भई काम गरेका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र भएका छन्। 

त्यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपानेले पनि यतिबेला स्वतन्त्र उम्मेवारका रूपमा काठमाडौं क्षेत्र–५ मा उम्मेदवारी दिएकी छन्। न्यौपानले चुनावी मैदानमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका छन्।

न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउँछिन्। ‘अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्ति छन्। मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन। त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ’, उनले भनिन्।

उसो त, ‘लौरो’ चिह्नबाटै बालेन र हर्कले पाएको जितबाट हौसिएका केही युवाहरूले ‘लौरो’ चुनाव चिह्नलाई अभियानका रूपमा अघि बढाएका छन्। लौरो अभियानलाई सांगठनिक स्वरूप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत उनीहरू यतिबेला स्वतन्त्रकै शैलीमा निर्वाचनमा होमिएका छन्।

काठमाडौं क्षेत्र–७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका इन्जिनियर आकर्षण पोख्रेल (प्रवेन्द्र पोख्रेल) आफू निर्वाचित भए नीतिगत कामलाई केन्द्रित दिने बताउँछन्। 

पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमी भट्टराई), एमालेका श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार रामवीर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

लामो समय अमेरिकामा बसेर नेपाल फर्किएका पोख्रेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने  दाबी गर्छन्। पोख्रेलले चुनावी एजेन्डामा १० वटा संकल्प अगाडि सारेका छन्। 

‘यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महँगीलगायतका कैयन समस्या छन्’, उनले भने, ‘यी यस्ता समस्या हुन्, जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ।’ 

सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यकता भएको पोख्रेलको भनाइ छ। 

उनले भने, ‘त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाई पूर्ण रूपमा कार्यान्वय गर्ने, कला, संस्कृति यस्ता समस्या हुन्, जुन सहजै समाधान गर्न सकिन्छ। मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ।’

सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ। 

ढल तथा फोहोर व्यवस्थापन नीति बनाई पूर्णरूपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण–उत्तर पर्यटन राजमार्गका रूपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ। 

त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाडौं क्षेत्र–८ बाट उम्मेदवारी दिएका सुमन सायमी सडक विस्तारको स्थानीयका समस्या समाधानमा आफू केन्द्रित हुने बताउँछन्।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारसमेत रहेका उनले तत्कालीन समय १३ हजार ७७० मत प्राप्त गरेका थिए। 

स्थानीय तहमा प्राप्त गरेको मतले हौसिएर उनी यतिबेला प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। सडक विस्तारका क्रममा विस्थापित वासिन्दालाई रोजगारीसहित पुनःस्थापनाको मुद्दा उठाइरहेका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए। 

प्रकाशित: Nov 08, 2022| 14:04 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...