डुम्रे- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मुलुकलाई अग्रगमनतर्फ लैजानका लागि गठबन्धन बनेको बताएका छन्।
व्यास नगरपालिका-३ देउरालीनगरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताए।
‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ। संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ’, नेता पौडेलले भने। युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको उनको जिकिर थियो।
व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौँ नेपालीको आस्थाको केन्द्र बनाई पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलको स्पष्टोक्ति छ।
व्यास नगरपालिकालाई देशकै नमूना सहर बनाउने उनको दाबी छ। व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन लागिपरेको नेता पौडेलले बताए।