इनरुवा- सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आइतबार उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे।
प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहेका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाशालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पूरा गर्ने विश्वास दिलाए। सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले देशमा राजनीतिक स्थिरता आवश्यक भएकाले त्यसका लागि गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पारे।
उनले सुनसरी खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासी सधैँ डुबान, कटानको समस्याबाट पीडित भएकाले त्यसको दीर्घकालीन समाधानका लागि बाँध निर्माणका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताए। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ४(२) का उमेदवार हाजी इसराइल मंसुरीलगायतका पार्टीका नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए।