काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि रणनीतिक महत्त्वका ४५ योजना सार्वजनिक गरेका छन्। प्रचण्ड गोरखा क्षेत्र– २ मा प्रतिनिधिसभाका उम्मेदवार हुन्। आइतबार प्रचण्डले गोरखाली जनताका नाममा रणनीतिक योजनासहित ४५ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, कृषि, जडीबुटी, व्यावसायिक पशुपालन, सीपमूलक तालिम, साहित्य, कला–संस्कृतिको संरक्षणलगायत प्रतिबद्धता प्रचण्डले सार्वजनिक गरेका छन्। गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुआत गर्ने घोषणा प्रचण्डको प्रतिबद्धतापत्रमा उल्लेख छ।
‘नेपाली समाजलाई सामाजिक न्याय, समता र समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व, जनसेवामा मेरो भूमिका र इतिहास यहाँहरूलाई विदितै छ’, उनले भनेका छन्, ‘नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण, त्यसको कार्यान्वयनसम्म मैले आफूलाई निरन्तर देश र जनताको पक्षमा उभ्याउँदै आएको हो। तर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी नै छ।’
यस्ता छन् प्रचण्डका योजना
पालुङटार विमानस्थललाई पुनः सुचारु गरिनेछ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रूपमा विकास गरिनेछ।
बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना तत्काल कार्यान्वयन सुरु गरिनेछ। साथै, अन्य जलविद्युत्का सबै सम्भावनालाई पनि अघि बढाइनेछ।
पालुङटार नगरपालिका–७ च्याङलीमा रहने गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हुन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिनेछ। गोरखाका मावि तथा विभिन्न क्याम्पसलाई थप व्यवस्थित गर्दै प्राविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्या हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइनेछ।
रणनीतिक महत्त्व बोकेको बेनीघाट–आरुघाट–लार्के (रुइला नाका) तिब्बतसँग सिमाना जोड्ने। सडक खण्ड निर्माण कार्य पूरा गरिनेछ।
गोरखामा अवस्थित पालुङटार, गाईखुरटार, च्याङलीटार, धुवाकोटटार, कुन्दुरटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरुटारलगायतका उर्बर टारका साथै निबेलदेखि अब्रुवासम्मका दरौंदी नदीका किनारका फाँटमा नदी नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ तथा नहरको योजनामार्फत सिँचाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्ने योजना अगाडि बढाइनेछ। जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी, निजी र सरकारी क्षेत्रलाई उपयोग गरिनेछ।
गोरखालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ।
लिगलिगकोट, बूढीकोट, लकांकोट, सिरानचोकगढी, सुलिकोट, ताकुकोट, बारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिनेछ।
सिरानडाँडा–निम्चेपोखरी–दुधपोखरी–नागेपोखरी–नारदपोखरीलाई केन्द्र मानी हिमाली पर्यटनलाई प्रवद्र्धन गर्न राष्ट्रिय पर्यटकीय योजनाको सूचीमा पार्न पहल गरिनेछ।
सिरानचोक, भच्चेक सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रुविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रूपमा विकास गर्न पहल गरिनेछ। संस्कृति र प्रकतिलाई समिश्रण गरी ट्रेकिङ रुट निर्माण गरिनेछ। अध्ययनको आधारमा विशेष सांस्कृतिक ग्राम निर्माण गरिनेछ।
गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिनेछ।
२०७२ गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपपछि विकास गरिएका एकीकृत बस्तीलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइनेछ।