काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन्। लोकतान्त्रिक वाम गठबन्धनले रोल्पामा गरेको कार्यक्रममा पुनले अहिलेको गठबन्धनले कम्तिमा पाँच वर्ष निरन्तरता पाउने बताएका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका कदमका विरूद्धमा गठबन्धन गरिएको बताए।
२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो।
उनले ओलीमा निरंकुश चरित्र भएको आरोप लगाए। ‘५ वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए,’ उनले भने।
ओलीमा निरंकुशता र व्यक्तिवादको भूत सवार भएको र म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थालेकाले ओलीतन्त्रविरूद्ध यो गठबन्धन बनेको उनको भनाइ छ।
ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप उनको थियो।
‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो। बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो। आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो,’ उनले भने।
ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पुनको आरोप छ।