काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा जानुपरेको टिप्पणी गरेका छन्। ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्क गरे।
शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले प्रचण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नुपरेको उल्लेख गरे। उनले सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्ना परिवार र आफन्तको हितमा मात्रै प्रचण्डले काम गरेको आरोप लगाए।
ओलीले भने, ‘नेपालभित्र मात्रै होइन, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ। अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के? त्योभन्दा त बरु चुप लागेर खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले? त्यसबाट उन्मुक्ति दिने कसले? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’
ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी दोहोर्याए। सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिर ओलीले गरे।
उनले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको दाबी गरे। उनले भने, ‘यो अहिलेको जुन गठबन्धन छ, रियल्ली डेथ। तर, यो क–कल्ले पम्पिङ गरिराखेको छ। भेन्टिलेटर लगाइराखेको छ। सास फेरिराखेको छ। यिनीहरूको मुख ६ तिर फर्केको छ। यसले जनता देख्दैन। देशको किन्चित माया छैन। अब एमाले एक्लै सरकार बनाउन सक्छ, बहुमत ल्याउन सक्छ। बहुमतको सरकार बनाउन सक्छ। तर, यसको अर्थ हामी कसैलाई सरकारमा लिँदैनौँ भन्ने होइन।’