काठमाडौं– वरिष्ठ कलाकार नीर शाहले कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन्।
शनिबार काठमाडौं क्षेत्र–५ लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहले गरेको बृहत् कार्यक्रममा पौडेललाई मत माग्दै शाहले यस्तो बताएका हुन्।
शाहले पौडेललाई नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार भएकाले मत दिएर विजयी गराउन मतदातासमक्ष आग्रह गरे। ‘नेपालको गणतान्त्रिक आन्दोलनबारे मैले धेरै भनिरहनु परेन। प्रदीप आन्दोलनको बिगुल फुक्ने अग्रणी युवा नेता हुन्। युवा पुस्तालाई निर्वाचनमा विजयी गराउन सके देशको विकासले गति लिन सक्छ’, शाहले भने।
उनले नेपालको राजनीतिमा अब पौडेल पुस्ताहरूले काम गर्नुपर्नेमा जोड दिए। शाहले केपी ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको प्रस्ट पारे। अर्थशास्त्री डा. स्वर्णिम वाल्ले, स्वास्थ्यविज्ञ डा. सुधा त्रिपाठीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।