आइतबार, साउन १७, २०८३

शेखर कोइरालाद्वारा संकल्प प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

मोरङ- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचन लक्षित संकल्प प्रस्ताव सार्वजनिक गरेका छन्। 

कोइरालाको संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय उल्लेख छ।  'युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन। 

हाम्रा सम्मानित  ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं,' कोइरालाको संकल्प प्रस्तावमा उल्लेख छ। 

आफूले जिते मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुने र समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउने प्रतिवद्धता कोइरालाले जनाएका छन्। 

यस्तो छ कोइरालाको संकल्प प्रस्ताव

संविधानको रक्षा, राजनीतिक स्थिरता,

सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि [मेरो संकल्प]

प्रिय साथीहरु,

हामी फेरि पाँच बर्षपछि आम निर्वाचनको संघारमा छौँ। हामीले उत्साह र उमंगका साथ हाम्रा चाडपर्व मनाइरहेका छौँ। आम निर्वाचन पनि सबै नेपालीहरुको लागि उत्सवको रुपमा हाम्रो अगाडि आएको छ। मंसिर ४ गते हामी हाम्रा केन्द्रीय प्रतिनिधि (सांसद) र प्रदेश सभाका प्रतिनिधिहरु छनोट गर्न गइरहेका छौँ। यसै कडिमा मोरङ क्षेत्र नं। ६ का तपाई मतदाताहरु लोकतान्त्रिक मताधिकारको प्रयोग गर्दै आफ्ना प्रतिनिधि छान्न गईरहनु भएको छ।

साथीहरु,

हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको छ। अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ। संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेस पार्टी र गठबन्धनले मलाई मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनाएको छ। साथै  प्रदेश सभा सदस्य पदका लागि  मोरङ  क्षेत्र ६ प्रदेश (क) बाट नेकपा माओबादी केन्द्रका जीवन आचार्य र मोरङ  क्षेत्र ६ प्रदेश (ख) बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार हुनुहुन्छ।

यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ। युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन। हाम्रा सम्मानित  ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं।

त्यसैगरी गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ। विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने छ। बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो सञ्चालनमा  ल्याइनेछ।

मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईहरुको सहयोगको आवश्यकता छ। म समग्र नेपाली कांग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशालीस् इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु। आज जब म तपाईहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु। बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईहरुको घरदैलोमा आएको छु। यो त्यही  क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो।

साथीहरु,

मलाई थाहा छ म माथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठुलो अपेक्षा छ। म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन। म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन। आगामी मंसिर ४ गते तपाईहरुको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ। यो मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुनेछ। यो क्षेत्रको मात्रै हैन समग्र राष्ट्रलाई नै समन्याय, असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन मलाई ठुलो प्रेरणा मिल्ने छ। सदा झैं यहाँहरुको स्नेह र विश्वासको भारी अपेक्षा सहित जय नेपाल।

डा. शेखर कोइराला

प्रतिनिधि सभा सदस्य उम्मेदवार, मोरंङ क्षेत्र नं. ६

१९ कार्तिक २०७९

प्रकाशित: Nov 05, 2022| 11:05 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...