काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन्। चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार भारतसँग सीमा जोडिएको जिल्ला
दार्चुलाको सदरमुकाम खलंगा पुगेका उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए।
ओलीले भने, ‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले बाटो बनायो। हामी आफैं बनाउने थियौं तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो।’ नदी वरतिर सर्दैमा सीमा नसर्ने बताए। उनले भने, ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्यो कि सिमाना सारिहाल्ने?’
उनले भारत विशाल भएको तर थोरै सिमाना सार्ने बताए। उनले भने, ‘यो सुहाउँदैन। नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु।’