काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री भएर देश हाँक्ने बताएका छन्। शुक्रबार काठमाडौं–४ मा आयोजित मतदातासँगको अन्तरक्रियामा नेता थापाले यस्तो बताएका हुन्।
जनताको विश्वासका कारण आफू महामन्त्री भएको र भोलि जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्न सक्ने उनको भनाइ छ।‘ तपाईंहरूले गर्नुभएको विश्वासका कारण आज कांग्रेसको महामन्त्री भएको छु,’ थापाले भने, ‘भोलि तपाईंहरूको विश्वासले नै प्रधानमन्त्री भएर देशलाई अगाडि हाँक्ने कुरामा विश्वस्त छु।’
त्यसका लागि उनले आफूलाई मत दिन आग्रह गरे। ‘म तपाईंहरूको साथ, सहयोगले यहाँसम्म पुगेको छु। अहिले मेरा प्रतिस्पर्धीसँग जुध्ने बेला आएको छ। म एक्लै लड्न सक्दिनँ। तपाईंहरूको साथ, सहयोगले राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारी लिएर काम गर्ने अवसर मिल्न सक्छ।’