नवलपरासी पूर्व- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन्।
मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। मध्यविन्दु नगरपालिकाको वसन्तपुरबाट बिहीबार उनी पक्राउ परेको प्रहरीले जनाएको छ।
वलीसँगै नेकपाका जिल्ला सचिव गंगा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्ना पनि पक्राउ परेका छन्। सामना जागरण अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ।
वली नेकपा नवलपरासी जिल्ला अध्यक्षसमेत हुन्। उनीहरूलाई पक्राउ गरेर कारबाही प्रक्रिया थालिएको प्रहरीको भनाइ छ।