शनिबार, साउन १२, २०८१

प्रदीप गिरिको क्षेत्रमा दुई पुराना सहकर्मीको भिडन्त

चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरी यस पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुँदा जित सुनिश्चित भएको बताउँछन् भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका यादवले मधेसमा विकास ल्याउने एमाले नै भएकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– सिरहा क्षेत्र–१ बाट २०७४ मा नेपाली कांग्रेसका बौद्धिक नेता स्व. प्रदीप गिरि निर्वाचित भएका थिए। उनी कांग्रेस एक्लै चुनावमा होमिएका बेला यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। हुन त, यो क्षेत्रबाट कांग्रेसले २०४८, २०५१ र २०७० को आमनिर्वाचनमा पनि जित निकालेको थियो। यी तीनै चुनावमा कांग्रेसका पाका नेता पदमनारायण चौधरी यो क्षेत्रबाट निर्वाचित भएका थिए।

triton college

२०७४ मा प्रदीप गिरीका लागि यो क्षेत्र छाडेर चौधरी समानुपातिकबाट सांसद बनेका थिए। अहिले कांग्रेसले यो क्षेत्रबाट उनै चौधरीलाई उम्मेदवार बनाएको छ भने उनीसँगको चुनावी प्रतिस्पर्धामा रामशंकर यादव मैदानमा छन्। चौधरी र यादव पुराना सहकर्मी र प्रतिस्पर्धी पनि हुन्। यादव २०५६ मा कांग्रेस छाडेर वामपन्थी राजनीतिमा प्रवेश गरेका हुन । यादव कांग्रेस छाडेर २०५६ को संसदीय निर्वाचनमा मालेबाट उम्मेदवार बनेका थिए। त्यतिखेर उनी कांग्रेस उम्मेदवार उनै चौधरीका प्रतिस्पर्धी थिए।

त्यतिखेर यादव र चौधरी दुवै पराजित भए। चौधरीको यस पटक संसदीय निर्वाचनमा छैटौं प्रतिस्पर्धा हो भने यादवको दोस्रो। अहिले चौधरी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार छन् भने यादव नेकपा एमाले, जनता समाजवादी पार्टी र राप्रपाको गठबन्धनबाट चुनावी मैदानमा छन्। 

पाँचौ पटक सांसद बन्ने दाउमा चौधरी 
पद्मनारायण चौधरी सिरहाका सम्मानित र पाका नेता हुन्। चौधरी २०४८, २०५१ र २०७० मा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका हुन्। तीन पटक सांसद र एक पटक राज्यमन्त्री हुँदा पनि उनीमाथि कुनै प्रश्न उठेको छैन। उनी सादगी नेतामध्येमा पर्छन्। २०७४ मा कांग्रेसकै प्रदीप गिरि सांसद निर्वाचित भए। त्यतिबेला चौधरी समानुपातिकबाट सांसद बनेका थिए। चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरी यस पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका छन्। २०४८, २०५१, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को निर्वाचनमा जित हासिल गरेकाले यो क्षेत्रलाई कांग्रेसले आफ्नो पकड मान्दै आएका कारण जित निकाल्ने दाबी छ।

आफ्नो पकड क्षेत्र मात्र नभएर गठबन्धनको साथसमेत भएकाले जितका लागि कुनै समस्या नहुने कांग्रेसको दाबी छ। चौधरी कुनै समय गिरिजाप्रसाद र सुशील कोइरालाका विश्वासपात्र थिए। सुशील कोइराला सभापति निर्वाचित भएका बेला चौधरी सिरहाकी चित्रलेखा यादवसँग कोषाध्यक्षमा पराजित भएका थिए। अहिले चौधरी कांग्रेस केन्द्रीय सदस्य छन्।

Metro Mart
vianet

चौधरी आफूले सिरहाको व्यापारिक केन्द्र लहानलाई उदयपुरको नेपालटारसम्म जोड्ने बाटो विस्तार गरेको, सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा धेरै काम गरेको बताउँछन्। उनले भने, ‘सिरहाको व्यापारीक केन्द्र लहानलाई उदयपुरको नेपालटारसम्म जोड्ने बाटो विस्तार गरेको, शिक्षा, स्वास्थ्य, बिजुली, सडकका काम धेरै गरेको छु।’ एसियाकै नमुना आँखा अस्पताल, जसले सिंगो सिरहालाई चिनाउने लहान आँखा अस्पताल निर्माणमा आफ्नो योगदान रहेको चौधरी बताउँछन्। २०७० मा सांसद हुँदा सांसद विकास कोषको सबै पैसा कृषि र विद्युतीकरणमा लगाएको स्मरण गर्दै विगतका काम मात्रै हेरे पनि सिरहाबासीले आफूलाई नै मतदान गर्ने दाबी उनको छ। उनले कांग्रेसको मुख्य एजेन्डा भनेको संसद् र व्यवस्थालाई जोगाउने भएको बताउँदै संविधान र अहिलेको व्यवस्थाको रक्षाका लागि भोट मागिरहेको सुनाउँछन्। 

संसद् प्रवेशका लागि दोस्रो प्रयास गर्दै यादव
यादव २०४३ मा भगवानपुर पञ्चायतको प्रधानपञ्च, २०४८ र २०५४ मा कांग्रेसबाट तत्कालीन भगवानपुर गाविसको गाविस अध्यक्ष भइसकेका हुन्। यादव कांग्रेस छाडेर २०५६ को संसदीय निर्वाचनमा मालेबाट उम्मेदवार बनेका थिए । यादव अहिले एमालेमा छन्। यादव एमालेको मधेस प्रदेश कमिटी सदस्य हुन्। हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादव  एमालेले सिरहा–१ बाट उम्मेदवार बनेका छन्। ३ मंसिर २०५८ मा सिरहाको तत्कालीन भगवानपुर गाविस वडा–४ मा दिनेश यादव र राजेन्द्र यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुवाहक बसको विषयमा भएको विवादपछि हातहतियारसहित आएका रामशंकर यादवको समूहले गोली चलाउँदा सुरक्षामा खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर मृत्यु भएको थियो। सो घटनामा संलग्न रहेका यादवलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतको ६ माघ २०६१ को फैसलाले सर्वस्वसहित जन्मकैद सजाय तोकिएको थियो।

अदातलको फैसलापछि फरार रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्युरो महारागन्जबाट खटिएको प्रहरी टोलीले ३ पुस २०६९ मा काठमाडौंस्थित काँडाघारी टाउन प्लानिङबाट पक्राउ गरेको थियो। यादवलाई काठमाडौं जिल्ला अदालत बुझाएर फैसला कार्यान्वयनका लागि जेल चलान गरेको थियो। तर २०७६ मा मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस अवसरमा उनलाई आममाफी दिएकी थिइन्। उनीमाथि राजनीति प्रतिशोधका कारण मुद्दा लगाएर फसाएको एमालेको दाबी छ। यादवले आफ्नो जित हुँदा राष्ट्र बचाउनेहरूको जित हुने बताए। उनले एमाले राष्ट्रवादी शक्ति भएका कारण जनताले आफ्नो पार्टीलाई जिताउने दाबी गरे। उनले मधेसी र राष्ट्रवादी शक्तिलाई एक ठाउँ ल्याउन जसपाले एमालेसँग गठबन्धन गरेको बताए।

केपी ओलीले साढे ३ वर्षमा गरेका काम कसैले गर्न नसकेका कारण मधेसमा एमालेप्रति आकर्षण बढेको यादवको दाबी छ। एमाले–जसपा गठबन्धनले चुनाव जित्नेमा आफू ढुक्क रहेको यादवको भनाइ छ। उनले भने, ‘पाँच दलको गठबन्धनले केही फरक पर्दैन। हामी चुनाव जित्दै छौं ।’ यादले आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य सडकको विकास रहेको बताए। उनले कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सुनाए। 

स्थानीय तहको अवस्था 
लहान नगरपालिका, भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गाउँपालिका र धनगढीमाई नगरपालिकाको दुई वडा रहेको यस क्षेत्रमा ४१ वडा पर्छन्। तीमध्ये गत स्थानीय तह निर्वाचनमा २२ वडामा कांग्रेस, तीन वटा वडामा नेकपा एकीकृत समाजवादी र एउटा वडा माओवादी केन्द्रले जितेको थियो। एमालेले ९ वटा वडा र जसपाले ६ वटामा जित हासिल गरेका छन्। स्थानीय तह निर्वाचनमा यी क्षेत्रमा कांग्रेसले २० हजार ७८७, नेकपा एसले ७ हजार ४८६, माओवादी केन्द्रले ३ हजार ९९८ गरी वाम–लोकतान्त्रिक गठबन्धनले ३२ हजार २७१ मत प्राप्त गरेको तथ्यांकले देखाउँछ। 

त्यसैगरी एमालेले १६ हजार १५२ र जसपाले ११ हजार ४५१ गरी एमाले–जसपा गठबन्धनले २७ हजार ६०३ मत प्राप्त गरेका थिए। जनमत पार्टीले १ हजार २२१ मत पाएको थियो। सिरहा क्षेत्र–१ मा १ लाख ६ हजार २०१ मतदाता छन्। 

प्रकाशित: Nov 04, 2022| 16:24 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।