काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। बुधबार ओली निवास बालकोट पुगेर नवनियुक्त राजदूत थम्पसनले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाल र अमेरिकाले संयुक्त रूपमा सामना गरिरहेका चुनौतीहरूका विषयमा कुराकानी भएको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ। यसका साथै नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठका र आपसी साझेदारीलाई अझ उचाइमा पुर्याउने विषयमा कुराकानी भएको दूतावासको भनाइ छ।
राजदूत थम्पसन र अध्यक्ष ओलीबीच भएको यो पहिलो भेट हो। राजदूत थम्पसन नेपालका लागि राजदूतमा नियुक्त भएसँगै विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गरिरहेका छन्।