काठमाडौं- निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म चुनावी प्रचार-प्रसारको अनुमति दिएसँग मुख्य राजनीतिक दलका शीर्ष नेताहरू चुनावी दौडाहामा निस्किएका छन्।
कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एसका शीर्ष नेताहरू चुनावीसभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्किएका हुन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि बुधबारै कैलालीको धनगढी पुगेका छन्। उनी बिहीबार चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको कांग्रेस मुख्यालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले १७ कात्तिकमा अमरगढीमा, १८ कात्तिकमा नवदुर्गा गाउँपालिका, १९ कात्तिकमा अजयमेरु गाउँपालिका र २० कात्तिकमा आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना गरिने चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री देउवा २० कात्तिकसम्म निर्वाचन क्षेत्र केन्द्रित चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक गोविन्द परियारले बताए। पहिलो चरणको चुनावीसभा सम्पन्न भएपछि गठबन्धनको बैठक बसेर संयुक्तसभा वा संयुक्त प्रकृतिका दोस्रो चरणका कार्यक्रम तय हुने बताइएको छ।
एमाले अध्यक्ष केपी ओली चुनावीसभालाई सम्बोधन गर्न शुक्रबार उपत्यकाबाहिर जाँदै छन्। उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका विभिन्न सभामा सहभागी हुने एमालेले बताएको छ। दौडाहाको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावीसभालाई सम्बोधन गर्नेछन्।
कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एसका शीर्ष नेताहरू चुनावीसभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्किएका हुन्।
ओलीले ९ दिनसम्म पूर्वका खोटाङसम्मका ४० जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। ओली २७ कात्तिकमा काठमाडौं फर्किनेछन् भने त्यसलगत्तै आफ्नो चुनावी क्षेत्र झापा पुग्नेछन्।
सुदूरपश्चिमपछि ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। लुम्बिनीमा ६ जिल्लामा ओलीलाई सहभागी गराउने गरी प्रदेश कमिटीले तयारी थालेको छ।
गण्डकीका स्याङ्जा, कास्की र लमजुङमा २० कात्तिकमा तथा बागलुङ, पर्वत र नवलपुरमा २१ कात्तिकमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ।
यस्तै, मधेसमा जनकपुरसहित अन्य क्षेत्रमा हुने सभामा उनी सहभागी हुनेछन्। प्रदेश १ का झापा, सुनसरी, उदयपुर, खोटाङ, संखुवासभा, मोरङ र पाँचथरमा आमसभाको तयारी गरिएको एमालेले बताएको छ।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन्। बुधबार काठमाडौंमा भए पनि पार्टीको गोर्खा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सहभागी प्रचण्ड पुनः केही दिन उम्मेदवार रहेको गोरखा–२ मै केन्द्रित हुने माओवादीले जनाएको छ।
नेता नेपाल रौतहटकै चुनावी क्षेत्रमा भोट मागिरहेका छन्। नेता नेपालले मंगलबार जनकपुरधाममा भएको चुनावीसभालाई सम्बोधन गरेका थिए।
गठबन्धनले दोस्रो चरणमा मात्र शीर्ष नेतृत्व देश दौडाहामा जाने कि नजाने संयुक्त बैठकमार्फत निर्णय लिने भएको छ।
सत्तारुढ गठबन्धनका प्रमुख नेताहरू भने कम्तीमा तीनदेखि चार दिन निर्वाचन क्षेत्रतिरै केन्द्रित हुने भएका छन्।
कांग्रेस–एमालेलाई चुनावी प्रचारका हेलिकोप्टर प्रयोगको अनुमति
कांग्रेस र एमालेले आफ्ना शीर्ष नेतालाई देशव्यापी चुनावी प्रचारमा सहभागी गराउन निर्वाचन आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन्। दुवै दलबाट आएको निवेदनमा बुधबार साँझ निर्णय गर्दै अनुमति दिइएको आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए।
निर्वाचन आचारसंहिताको दफा १३ (च) र (छ) मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम बुझाउनुपर्ने र आयोगको अनुमतिमा उनीहरूले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ।