काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने भएका छन्। उनीहरूले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगका लागि निर्वाचन आयोगबाट अनुमति लिएका छन्।
प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन्। एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका हुन्।
निर्वाचन आयोगका अनुसार एमालेले बुधबार आयोग पुगेर हेलिकोप्टर प्रयोगका लागि अनुमति लिएको छ। उनीहरूले सरकारी हेलिकोप्टर भने प्रयोग गर्न पाउने छैनन्।
पार्टीका मुख्य प्रचारकले हेलिकोप्टर प्रयोग गर्न पाउने निर्वाचन आचार संहितामा उल्लेख छ। हेलिकोप्टर प्रयोग गरे पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहनुपर्छ। अन्यथा आयोगले कारबाही गर्छ।
प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था छ।