इटहरी– सुनसरीको बर्जू गाउँपालिका–५ का देवनारायण माझी केही दिनदेखि बिरामी छन्। नियमित औषधि सेवन गरिरहेका उनी स्थानीय पोलिक्लिनिकमा फलोअपमा पुगेका छन्। थप औषधि लिएर उनी सिटी सफारी चढेर घर जाने तयारीमा छन्।
सामान्य बिरामी हुँदा विराटनगर (१० किलोमिटर पूर्व) विराटनगर जानुपर्ने बाध्यता सुनाउँदै उनले भने, ‘दुई वर्ष अगाडिसम्म सिटामोल किन्न विराटनगर जानुपर्थ्यो। प्रेसर, सुगरका बिरामी भए भने झनै गाह्रो। अहिले गाउँमै अस्पताल खुलेर सजिलो भयो। हुलाकी मार्ग बनेपछि गाउँमा धेरै कुरा भयो।’ उनले रोकी राखेको सफारी चालकले उनलाई हतार लगायो। हातमा औषधिको झोला बोकेर उनी घरतिर लागे।
विराटनगरको बरगामीदेखि कोसी गाउँपालिकाको लौकहीसम्म ३२ किलोमिटर हुलाकी मार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बर्जू चोक बजारमा परिणत भएको छ। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बर्जूमा अहिले ७ वटा बैंकका शाखा खुलिसकेका छन्। ठूला होटल र सामुदायिक अस्पताल खुलेपछि स्थानीय खुसी छन्।
बर्जू सामुदायिक हस्पिटल एन्ड पोलिक्लिनिकका सञ्चालक राम पण्डित पनि हुलाकी मार्गले धेरै सहज बनाएको बताउँछन्। ३ महिना अगाडि मात्र पोलिक्लिनिक खोलेका उनले औषधि ल्याउन र बिरामी रेफर गर्न सहज भएको सुनाए।
बर्जू–१ का कुमार थापा पेशाले कृषक हुन्। उनलाई पनि कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ। सडक बनेपछि धेरै प्रगति भएको बताउँदै उनले पहिला नास्ता खाने होटल नभएको अवस्थामा अहिले ठूला होटल र पसल खुलेको बताए। बर्जू तालमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीयको आयआर्जन बढेको उनको भनाइ छ।
बुर्ज ताल ‘बर्ड वाचिङ’ को लागि प्रमुख क्षेत्र रहेको उनले प्रस्ट पारे। ‘रोजगारीको लागि पनि विराटनगर गएर आउन सक्ने अवस्था भयो। यतै पनि रोजगारी खुलेका छन्। पहिला यस्तो कहाँ थियो र आम्मै!,’ विगत स्मरण गर्दै उनले भने, ‘कच्ची बाटो थियो। एम्बुलेन्स ल्याउन सक्ने अवस्था थिएन। अहिले आँगनमै एम्बुलेन्स छ। स्टेचरमा हालेर बिरामी लैजानुपर्थ्यो। खोलामा डुबेर जानुपर्ने अवस्था थियो। हामी विराटनगर पुगेर कपडा फेर्नुपर्ने अवस्था थियो।’
१५ वर्षदेखि सैलुन चलाउँदै आएका रतन ठाकुर अहिले कारोबार बढेको बताउँछन्। विदेशबाट पठाएको पैसा लिन विराटनगर जानुपर्ने बाध्यता स्मरण गर्दै उनले भने, ‘अहिले पसलै अगाडिको बैंकबाट पैसा लिँदा हुन्छ। कमाइ भएपछि बचत हुन्छ। बचत गर्न बैंकहरू खुलेका छन्। १ वर्ष अगाडिसम्म मेरो मात्र सैलुन थियो। अहिले हेर्नु न ७ वटा त सैलुन नै भइसके।’ त्यससँगै विभिन्न अटो ग्यारेजका कारण स्थानीय युवाले रोजगारी पाएको ठाकुरको भनाइ छ।
हरिनगर–४ का इलियास अन्सारी गाउँमा विकास पुगेको अनुभव भएको सुनाउँछन्। पहिला केही नहुँदा भन्दा सडक बनेपछि धेरै भएजस्तो लागेको उनले बताए। अब अस्पताल र छोराछोरी पढाउने विद्यालय भएदेखि धेरै राम्रो हुने उनले सुनाए। ५ बिगाहा जग्गामा तरकारी खेती गर्दै आएका उनी सहज बजार जान सक्ने भएपछि ढुक्क छन्। मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पुर्याउन पाउँदा उनको आम्दानीको स्तर बढेको छ। उनीजस्तै गाउँका धेरै किसानलाई हुलाकी सडकले आर्थिक उपार्जनमा टेवा पुर्याएको छ।
हरिनगर बजारमै भेटिएका एक भारतीय मूलका व्यापारीले पनि सडक बनेपछि कवाडी सामान किन्न नेपाल छिर्ने गरेको बताए। देवानजन्ग गाउँपालिकाका जगदीश मेहता राजमार्ग बनेपछि धेरै खुसी छन्। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सडक शिलान्यास गरेको स्थान देखाउँदै उनले दूध र तरकारी बिक्रीमा अहिले सजिलो भएको सुनाए। ७ माउ भैंसी पालेका उनले तरकारी र धान खेतीबाट समेत आम्दानी गर्ने गरेका छन्।
त्यही बीचमा सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका रामप्रसाद मेहताका कारण आफूहरूले दुःख पाएको उनले बताए। लामो समय सिँचाइको अध्यक्ष भएका उनले सिँचाइ हुन नमिल्ने गरी नहर निर्माण गराएको उनको गुनासो छ। शंकरपुर शाखा नहरको अध्यक्ष रहेका मेहता नेकपा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन्। जग्गा छेवैबाट नहर बगे पनि बोरिङबाट सिँचाइ गर्न बाध्य भएको उनको अनुभव छ।
सुनसरीको सिमावर्ती क्षेत्र अझै पनि सुगम जिल्लाको दुर्गम भेगमा पर्छ। बर्जू, देवानगन्ज, गढी, हरिनगर गाउँपालिकामा अझै पनि न्यूनतम पूर्वाधारको अभाव छ। गुणस्तरीय शिक्षा, अस्पताल, सडक तथा सञ्चारको सुविधाबाट विमुख स्थानीयलाई अहिले चुनावी सरगर्मीले छोएको छ। चुनावको मिति नजिकिएसँगै नेताहरू घरदैलो अभियानमा जान थालेका छन्। सोही क्रममा नेतालाई गाउँमा विरोध गर्नेदेखि माग राख्नलाई लामबद्ध छन् सीमावर्ती क्षेत्रका स्थानीय।
हुलाकी मार्ग अन्तर्गत तत्काल बरगामीदेखि केसलीया खोलासम्मको ३ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ। यसै वर्षमा निर्माण सम्पन्न हुने गरी ठेक्कामा काम भइरहेको छ।