काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं- ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन्।
आसन्न निर्वाचनका लागि काठमाडौं क्षेत्र नं- ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए।
उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ। उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेको हो।
सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा नौजनाको उम्मेदवारी रहेको छ भने प्रदेशसभा २ (ख)मा १२ उम्मेदवारी परेको अधिकारीले जानकारी दिए।
प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। २३ मतदानस्थल तोकिएको उक्त क्षेत्रमा ६१ मतदान केन्द्र निर्धारण गरिएको छ। सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका ६ वडा र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन्। काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका–४ र ५ यो क्षेत्रमा समेटिएका छन्।