मोरङ- कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले आगामी ४ मंसिरको निर्वाचनमा सत्ता गठबन्धनले जिते मात्रै संविधानको रक्षा हुने बताएका बताएका छन्।
बुधबार विराटनगर महानगरको जनपथ चोकमा आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले शिक्षालाई उच्च प्राथमिकता राखेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बने मुलुकमा विकास हुने र बेथिति हट्ने दाबी गरे।
कांग्रेसले ‘कोखदेखि शोकसम्म’ का योजना बनाई कार्यान्वयन गर्ने उल्लेख गर्दै उनले गरिबलाई शोकमा १० हजारसम्म किरिया खर्च दिइने सुनाए। कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने उनको भनाइ छ।
राष्ट्रिय सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताए।
क्षेत्र–६ (ख) का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचनासहितको राजधानी बनाइने भएकाले गठबन्धनले जित्नैपर्ने धारणा राखे। उनले विराटनगरको चक्रपथ व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकतालाई निर्देशन दिए।