'समृद्ध नेपाल, सुखी नेपाली'
'सुशासन, विकास, समृद्धि र समानता'
'पाँच वर्ष: एमालेले गर्छ'
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार एमालेले सार्वजनिक गरेको घोषणापत्रमा ठूला अक्षरमा समावेश गरेका नारा हुन् यी। पाँचमध्ये चार खण्ड, ३० शीर्षकका विषयसूची र १ परिशिष्टमा एमालेले नारैनारा सजाएको घोषणापत्र मंगलबार पाँचतारे होटल याक एन्ड यतीमा सार्वजनिक गरेको हो।
घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीको अपिल पनि समावेश छ। एमालेले घोषणापत्रमा २० ग्यारेन्टी, ३० कार्यक्रम र २४७ वटा प्राथमिकता छुट्याएको छ। यीबाहेक २०७४ पछि बनेको ओली नेतृत्वको नेकपाको ४१ महिने सरकारमा आफूहरुले ८२ माइलस्टोन काम गरेको दाबी एमालेको छ।
खण्ड 'ख'मा 'नेकपा एमाले: गौरवशाली इतिहास, सही नेतृत्व' शीर्षकमा एमालेको इतिहास, खण्ड 'ग'मा मनमोहन अधिकारी नेतृत्वको सरकारको प्रशंसामा वाहावाही गर्दै 'पहिलो कम्युनिस्ट सरकार, पहिलो पोलिसी डिपार्चर' नारासहित एमालेको प्रशंसा र सोही खण्डमा २०७२ मा नाकाबन्दीविरुद्ध एमाले अध्यक्ष ओलीको अडान तथा २०७४ पछि उनको नेतृत्वमा बनेको सरकारले स्वाधीनता, स्वाभिमान र विकासको तीर्खा जगाएको दाबी गरिएको छ।
नारा यतिमै सकिँदैन। खण्ड 'ग'मा हाम्रो राष्ट्रिय आकांक्षा, समृद्ध नेपाल सुखी नेपाली शीर्षकमा २०६२/६३ का परिवर्तनलाई गठबन्धनले गोलचक्रमा फसाउन खोजेको आरोपसहित यसलाई तोड्नका लागि पनि एमालेको सरकार बनाउनुपर्ने आह्वान गरिएको छ। एमालेको सरकार बने ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारी मुलुकलाई राजनीतिक अस्थीरताको दलदलबाट बाहिर निकाल्ने बताइएको छ। जसलाई तेजिलो बनाउनका लागि 'समृद्ध नेपाल, सुखी नेपाली' नाराका साथ 'राज्यको समृद्धिका लागि नागरिक र नागरिकको सुखका लागि राज्य'लाई एमालेको मुख्य गन्त्व्यका रुपमा अघि सारिएको छ।
पच्चीसौँ पृष्ठबाट बल्ल एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना एजेन्डा अघि सारेको छ, तर त्यहाँ आइपुग्दा पनि नाराप्रति एमालेको मोहभंग भइसकेको भने भेटिँदैन। 'ट्वान्टी ग्यारेन्टी, पाँच वर्ष– एमालेले गर्छ!' शीर्षकमा त्यहाँ एमालेले २० वटा नारागत ग्यारेन्टी गरेको छ। 'हङ्गर : नो लङ्गर', 'सुरक्षित छाना :पुग्छ सबैको चाहना', 'पढाइ : भविष्यको जग बसाइ', 'फ्री मिटर : दश हजार लिटर', 'खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमैं जवानी', 'भूमिगत तार : सहर बजार', '५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार'लगायतका काव्यात्मक नारा यहाँ समेटिएको छ।
यसैगरी 'स्वस्थ महिनावारी : १५ सय वर्षभरि', 'हामी सामाजिक : सभ्य नागरिक', 'नेपालीलाई मात्र: नागरिकता', 'उत्पादन स्वदेशी : बजार विदेशी', 'कमाइ : युवाको रोजाइ', 'प्रेसर–सगुर : भइन्न बिरामी औषधि बेगर', 'फ्री युनिट : ५० युनिट', 'दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार', 'नो लाइन :सेवा अनलाइन'लगायतका नारा यहाँ समेटिएको छ।
यी ग्यारेन्टीभित्र एमालेले ५ वर्षमा २० खर्बको अर्थको प्रतिबद्धता समेत गरेको छ। खण्ड पाँचमा 'राष्ट्रिय हितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन' नारासहित सुरु गरिएको छ। त्यसपछि विभिन्न क्षेत्रको सुधार र विकास गर्ने दाबीका साथ ३० बूँदे नारा एमालेले घोषणापत्रमा समावेश गरेको छ।
'समद्धृ नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) नेतृत्वको बहुमतको सरकार बन्न आवश्यक रहेको दाबी गर्दै एमालेले आफ्ना घोषणा सकेको छ। अन्तिममा ०७४ पछि बनेको नेकपा नेतृत्वको ४१ महिने सरकारले ८२ माइलस्टोन काम गरेको दाबी गरिएको छ। ब्याककभर पुन: एमालेले नाराले रंग्याएको छ। 'शान्ति, लोकतन्त्र, स्वाधीनता र स्वाभिमान, समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान' सहितका चारवटा नाराको ग्राफ त्यहाँ बनाइएको छ। यसरी एमालेले आफ्नो घोषणापत्रको सुरुदेखि अन्तिमसम्म नाराहरुले भरेको छ। मंगलबार सार्वजनिक एमालेको घोषणापत्रमा सुरुदेखि अन्तिमसम्म करिब १०० वटा नारालाई दोहोर्याइ तेहेर्याइ हाइलाइट गरेको देखिन्छ।
दलहरूले यसलाई घोषणापत्रमा ध्यानाकर्षणका लागि नारागत रुपमा आफ्ना घोषणा लेख्ने गरेको टिप्पणी गर्दै आएका छन्। यद्यपि, राजनीतिक विश्लेषकहरू भने विचारको संकटका कारण दलहरूले नारा लगाउने गरेको टिप्पणी गर्छन्। राजनीतिक विश्लेषक हरि रोका दलहरू नारामा बढी केन्द्रित हुनुलाई विचारको संकटका रूपमा व्याख्या गर्छन्।
'अहिले दलहरूसँग विचारधारा रहेन, आइडोलोजी क्राइसिस छ उनीहरुमा, त्यसैले उनीहरू यस्ता नाराको सहारा लिन्छन्,' उनले भने, 'जस्तो कम्युनिस्ट भन्नेबित्तिकै हामी वामपन्थी विचारधारा बुझ्छौँ, तर त्यो उनीहरू रहेनन्। मध्यमार्गमा बसेर यथास्थितिलाई स्वीकार गर्ने दलका रुपमा बुझिने कांग्रेस पनि अब कांग्रेस रहेन। उनीहरुमा विचारै रहेन र नाराको सहारा लिन्छन्।'
संस्थागत ढंगले संयोजन गर्न नसक्ने कारण, विचारको अभाव आदिका कारण नाराको सहारा लिने अवस्था दलहरूमा आएको र अहिले प्राय: सबै दल त्यसैको टेकोमा उभिएको टिप्पणी उनको छ।
एमालेकै नेता भीम रावलले एमालेको घोषणापत्र नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन भएको आरोप लगाएका छन्। उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, क्रिस्चियन मिसनका गतिविधिमा सक्रिय रहेका र केपी शर्मा ओलीलाई होलीवाइन चखाएका एकनाथ ढकाल र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग भएको तालमेलको औचित्यसमे पुष्टि नगरिएको उनको भनाइ छ।
'एमालेले भर्खरै जारी गरेको घोषणापत्रमा 'नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो' भन्ने भनाई उचित हो। तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,' डा रावलले ट्विट गरेका छन्।