काठमाडौं- मंगलबार काठमाडौंस्थित पाँचतारे होटल याक एन्ड यतीमा नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक तथा लाइभ डिबेट कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा अध्यक्ष ओलीले ‘फिङ्गर स्क्यान’ गरी डिजिटल घोषणापत्र सार्वजनिक गरे। घोषणापत्र सार्वजनिक कार्यक्रमपछि ओलीको लाइभ डिबेट सुन्न एमालेका नेताकार्यकर्ता, शुभेच्छुक र पत्रकार पर्खिरहेका थिए।
पूर्वबैंकर अनिलकेशरी शाह 'प्रश्न' बोकेर मञ्चमा उक्लिए। उनले प्रश्नहरु सुरु गरे, ओलीले जवाफ दिन थाले। एमालेले आफूलाई निमन्त्रणा गरेकाले आफू उपस्थित भएको अभिव्यक्ति दिए। ओलीका हरेक जवाफमा साह मन्त्रमुग्ध हुँदै देखिन्थे। जवाफले खुसी लागेकोबाहेक न कुनै अभिव्यक्ति हुन्थ्यो न कुनै प्रतिप्रश्न। लाइभ डिबेट ओलीको एकल प्रस्तुति थियो। उनले नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई लाइभ डिबेटको सामाजिक सञ्जालीय निम्तो दिएपनि देउवाले चासो नदिएपछि ओलीको लाइभ डिबेट सपना वास्तविकतामा परिणत हुँदा एकल प्रस्तुति बन्न पुगेको थियो।
सवालजवाफको कार्यक्रममा लम्बिँदै जाँदा भने हलको पछाडिको पंक्तिमा खासखुस चल्न थालिसकेको थियो-‘कुनै कडा प्रश्न न प्रतिप्रश्न, प्रतिस्पर्धी पनि छैनन् नै। प्रश्न पनि एमाले भर्सनकै जस्तो सुनिन्छ।’ लाइभ डिबेट भनिएको शाहले डेढ घण्टाको समयमा एकैपटक पनि प्रतिप्रश्न गरेनन्।
सुरुमा नै ओलीले प्रतिप्रश्न कडा प्रश्न नगर्न आग्र गरेका थिए। 'एउटा राजनीतिज्ञको भन्दा पनि जनताको प्रश्न सोध्नुहोला,' ओलीको आग्रह थियो। ‘गमक्क’ परेका शाहले पनि पटकपटक आफूलाई सर्वसाधारण भएर कार्यक्रममा आएको पुष्टि गर्ने यत्न गर्दै एकल डिबेट सुरु गरेका थिए। केशरीको जिज्ञासामा ओलीले प्रवचन दिइरहेको भान हुन्थ्यो।
केशरीले सुरुमै संसद विघटनको विषय कोट्याए। ‘गएको चुनावमा यहाँको पार्टीलाई झन्डै दुईतिहाइको सरकार बनाउने एउटा अवसर दिएको थियो। नेपाली जनताले पनि यस्तो बहुमत पाएपनि स्थिरता आउँछ। तर बीचमा गएर उथलपुथल भएर आजको यो अस्थिरताको अवस्था आएको छ। त्यसैले यो चुनावमा पनि तपाईंलाई बहुमत दिएर जनताले के फाइदा पाउँछ?,’ उनको प्रश्न थियो।
पहिलो प्रश्नले त बहस अलि रमाइलै हुने छाँट देखाएको थियो। तर त्यो छाँट केहीछिनमै सेलाएर गयो, जब ओलीले जवाफ दिनथाले।
‘धेरै महत्वपूर्ण प्रश्न उठाउनुभयो। धेरैतिर अन्यौल उठाउन खोजिएको छ। एउटा अन्यौल चाहिँ यस विषयमा पनि उठाउन खोजिएको छ। नेकपा एमालेलाई दुईतिहाइ बहुमत दिइएको थियो जुन टिकाउन सकेन। बहुमत टिकाउन मात्र हैन कि काम पनि केही गर्न सकेन भन्ने खालको भ्रम फिँजाइएको छ,’ जवाफको क्रममा ओलीले भने।
यसअघि सत्ता सञ्चालन गर्दा पटकपटक बहुमतको ध्वाँस दिने ओलीले अब भने उक्त बहुमत आफ्नो नरहेको भन्दै बोली फेर्न थालेका छन्। पुराना गल्ती ढाकछोपको निम्ति त्यसबेला आफूले बहुमत नपाएको पुष्टि गर्न संघर्ष गरिरहेका छन्। जुन आज पनि ओलीले गरे। उनका अनुसार गत निर्वाचनमा एमालेलाई प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ गरेर १२१ सिट उपलब्ध भएको थियो। बहुमतको लागि १३८ सिट चाहिन्थ्यो। त्यसैले आफूसँग बहुमत नरहेको दाबी ओलीले गरे। बरु अरु सहकार्य गरेका दलहरुले षड्यन्त्र गरेको उनको भनाइ थियो।
यसरी एमालेविरोधी षड्यन्त्र चलेकोले त्यसबेला जुटाइएको बहुमत भत्किएको दाबी गर्दै ओलीले लामो समय एक्लै बोलिरहे। यसबीचमा शाह मौन रहे। प्रतिप्रश्न सोध्ने भन्दा पनि मौन समर्थन गरेझैँ गरे। बरु धेरै गहिरो कुरा गर्नुभयो भन्दै शाहले सही थपे। यसबाट उक्त डिबेट पूर्वसहमति बमोजिम भएको अनुमान अधिकांशले गरेका छन्।
एमालेले देशको लागि ‘यसरी’ सोचेकोमा खुसी व्यक्त गर्दै केशरीले रोजगारीको समस्यालाई लिएर अर्को प्रश्न गरे। दुई छाक टार्नको लागि विदेश जाने मजदुरको जीवनमा यो प्रतिबद्धताले के फरक पार्छ भन्ने प्रश्न केशरीको थियो। जसमा ओलीले पुनः लामो समय लिँदै प्रवचन दिइरहे।
‘पहिलो कुरा रोजगारीको सिर्जना कसरी हुन्छ र दोस्रो आम्दानी कसरी हुन्छ भन्ने कुरा आउँछ। एउटा सरकारी वा अन्य कम्पनीबाट रोजगारी हुन्छ भने अर्को आफैँ उद्यम गर्ने र स्वरोजगार हुने र अरुलाई पनि रोजगारको अवसर जुराउने कुरा आउँछ। यसमा हामी काम गछौं,’ उनले भने।
त्यसपछि ओलीले पूर्वाधार विकासबारे गफ लगाए। ‘फर्क हे फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल’ भनेर गीत गाएर मान्छे रोकिनेवाला नभएको भन्दै समग्र विकास हुनुपर्ने जोड दिए। ठूलाठूला पूर्वाधारको विकास र कृषि क्षेत्रमा विकास गर्न सिचाइको प्रबन्ध गर्नेबारे बोले। यी कुराहरुले मात्र रोजगारीको अवसर सिर्जना हुने दाबी गरे।
ओलीले करिब ५ मिनेटभन्दा धेरै समयसम्म बोलुन्जेल केशरी टाउको मात्र हल्लाएर बसिरहे। कार्यक्रम सकिनासाथ पुनः उल्टै गुणगान गाए। ‘अध्यक्षज्यूले भन्नुभएको कुरा धेरै राम्रो लाग्यो’ भन्दै आफ्ना कुरा राखे। त्यसक्रममा गजक्क परेर बसेका ओलीले पनि हसिलो मुद्रामा हो’मा हो मिलाउँदै गरेको देखिन्थ्यो।
अब केशरीले बहसलाई अर्थतन्त्रको विषयतर्फ डोहोर्याए। ‘अध्यक्षज्यूको विचारमा आजको अर्थतन्त्र कुन अवस्थामा छ? र आउने ५ वर्षमा अध्यक्षज्यूको नेतृत्वमा यो अर्थतन्त्रलाई कता लिएर जाने विचार छ?,’ उनको प्रश्न थियो।
अघिल्लो जवाफमा झैँ ओली पुनः घोषणापत्र कोट्याउँदै विषयमा प्रवेश गरे। पाँच वर्ष नभएर दुई वर्षभित्रै नेपाली जनतालाई साक्षर बनाउने प्रतिबद्धता सुनाए। रौतहट र महोत्तरीजस्तो जिल्लामा ३०/३२ प्रतिशतमा मात्र साक्षरता रहेको तथ्यांक सुनाए। जातिगत रूपमा पछाडि रहेका समुदाय कम साक्षर रहेको कुरा बताउँदै त्यसको लागि आफूले काम गर्ने दाबी गरे। भविष्यबारे बोल्दै गरेका ओली एकाएक पछाडि फर्किएर ०७५ साल सम्झिए। ०७५ वैशाख १ गते रारा तालबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको प्रसंग कोट्याए। त्यसपछि सिराहा गएर अर्को अभियान सुरु गरेको कुरा कोट्याए। जुन अभियान व्यापक सफल हुँदै गर्दा कोभिडले अफ्ठ्यारोमा पारेको बहाना देखाए।
आफ्नो कार्यकालमा फर्कंदै ओलीले कोरोनाको समयमा आफ्नो नेतृत्वको सरकारको कारण नेपालमा तुलानात्मक रुपमा कम क्षति भएको दाबी गरे। त्यही क्रममा शिक्षामा खेलेको भूमिकालाई लिएर विदेशी संस्थाले प्रसंशा गरेको फेहरिस्त सुनाइरहे। ओली यसरी विषयान्तर भइरहँदा पनि शाहले उनलाई प्रश्नमा केन्द्रित गराउन प्रयत्नसम्म गरेनन्। यद्यपि अर्थतन्त्र सुधार्न भ्रष्टाचार निर्मूल पार्ने र उद्यम सञ्चालन गर्ने नियमित रटान लगाइरहे।
यसरी लामो प्रवचन दिएका ओली प्रश्नमा केन्द्रित हुने भन्दा पनि आफ्नो कुरा सक्ने ध्याउन्नमा देखिन्थे। जवाफ दिएकोमा खुसी व्यक्त गर्दै ‘एमालले सबै क्षेत्र समेटेको र हरेक नेपालीलाई यो कुरा पाठ बन्ने’ बताउँदै ओलीको कुरामा शाहले सही थपे। यद्यपि, आफ्ना हरेक लाइनमा ‘सर्वसाधारण’ भएर प्रश्न राखिरहेको स्पष्टीकरण दिइरहे।
शाहले फेरि अर्को प्रश्न राखे– यदि अध्यक्षज्यूको नेतृत्वमा सरकार बने सुशासन र भ्रष्टाचार नियन्त्रणमा के कदम लिनुहुन्छ होला?
जवाफमा ओलीले पहिला नेतृत्व नै स्वच्छ रहनुपर्ने भनाइ राखे। ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने अठोट रहनुपर्ने दाबी गरे। आफ्नै शैलीमा विभिन्न किस्सा र कथा सुनाए। सोही कथाको टेकोमा आफ्ना तर्क ओलीले पेस गरे। पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउने दाबी सुनाए। ‘कुनै ठाउँमा कसैले लुकेर भ्रष्टाचार गर्यो भने कारबाहीबाट उन्मुक्ति पाउँदैन। यसरी नै हामी पाँच वर्षभित्र ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त’ देश बनाउँछौँ,’ ओलीले भने।
तर यसमा कसरी भन्ने कुराको गहिरो जवाफ थिएन। शाहले पनि ‘प्रतिप्रश्न’ सोध्ने दुख गरेनन्। बरु कार्यान्वयनको अपेक्षा राखे। र, आफ्ना केही कुरा भन्दै अर्को प्रश्नमा केन्द्रित भए। उनले एमालेको घोषणापत्रमा प्रयोग भएको शब्द ‘ग्यारेन्टी’लाई लिएर चासो देखाए। यसको गहिराइ र अर्थबारे जिज्ञासा राखे।
एमालेले प्रतिबद्धता स्वरुप आफ्नो घोषणापत्रमा २० वटा ग्यारेन्टी उल्लेख गरेको छ। जसबारे ओलीले कार्यान्वयन गर्ने अठोट स्वरुप यसको प्रयोग गरेको संकेत गरे। कार्यान्वयन हुने भएकोले आफ्ना वचनको ‘ग्यारेन्टी’ दिएको ओलीले बताए। पूर्वबैंकरसँगको संवादमा उनले बैंकिङ भाष्य प्रयोग गरेरै जवाफ दिए। आफ्नो ग्यारेन्टीको ‘भुक्तानी’ नागरिकलाई गरिने वाचा गरे।
ओलीले गरेको वाचा सुनेपछि शाहले पुनः खुसी व्यक्त गरे। न प्रतिप्रश्न, न सोझो उत्तर। पट्यारलाग्दो डिबेटमा शाहको खुशी पनि रमाइलै थियो। डेढ घण्टाभन्दा बढी भएको संवादमा शाहले जम्मा पाँचवटा प्रश्नमात्र सोध्न भ्याए। र, अन्त्यमा देशमा विकासको गति अघि बढाउन सूर्यमा मत माग्दै ओलीले भनाइ टुंग्याए। ओलीले नारा भन्दै गर्दा सँगसँगै शाहले पनि मुख चलाए, ‘मंसिर चार, एमाले सरकार।’