काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार माओवादी मुख्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
माओवादीको चुनावी घोषणापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने प्रस्ताव गरिएको छ। घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिबद्धता माओवादीले जनाएको छ।
राजनीतिक स्थिरता र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने माओवादीको घोषणापत्रमा उल्लेख छ। संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा मत अभिव्यक्त गरेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नुपर्ने माओवादीको तर्क छ।
संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। सातै प्रदेशमा संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा मन्त्रिमण्डल रहने र विधान क्षेत्रमा मात्रै केन्द्रित प्रदेशसभा गठन गर्ने प्रस्ताव माओवादीको चुनावी घोषणापत्रमा गरिएको छ। माओवादीले संघमा १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रिय सभा अनि ३३० सिटको प्रदेशसभा बनाउने प्रस्ताव गरेको हो।