काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उनले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेका हुन्।
पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्।
‘टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका हाम्रो मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तत्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका सांसद ईश्वर पोखरेलले सबै खलः लाई आवश्यक सांस्कृतिक बाजागाजा हस्तान्तरण गरेको र चतुरमास भजन किर्तन अवलोकन गर्न आउनु भएको केही तस्बिरहरु,’ सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौं।’
निर्वाचन आयोगका एक अधिकृतले आचारसंहिता लागू भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताए। उनले एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परे आवश्यक कारवाही गरिने पनि जानकारी दिए।