बिहीबार, वैशाख ६, २०८१

पर्सा–१ : दुवै गठबन्धनलाई चुनौती बन्न सक्छन् द्विवेदी

एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

खिला कार्की

खिला कार्की

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– कुनै बेला प्रतिनिधिसभा निर्वाचनमा पर्सालाई नेपाली कांग्रेसको गढ मानिन्थ्यो। २००७ को क्रान्तिका बेला थीरबम मल्लको कमान्डमा सशस्त्र क्रान्तिको किल्ला बनाएको वीरगञ्ज अर्थात् पर्सा २०१५ यता कांग्रेसको किल्ला मानिँदै आएको थियो। अझ पर्सा क्षेत्र–१ कांग्रेसको बलियो गढ मानिन्थ्यो। कांग्रेसले २०५६ मा संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई चुनाव जिताउन  सुरक्षित क्षेत्र मानेर पर्साबाट उम्मेदवार बनाएको थियो। 

triton college

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले–जसपा गठबन्धनले प्रदीप यादवलाई अघि सारेको छ भने सत्तारुढ गठबन्धनबाट लोसपाका नेता लक्षमणलाल कर्ण चुनावी मैदानमा छन्। उनीहरूको प्रतिस्पर्धामा छन्, स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी। द्विवेदी पर्सा कांग्रेसका पूर्वजिल्ला सभापति हुन्। उनी २०७४ मा वीरगञ्ज महानगरमा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार थिए। कांग्रेसको गढ मानिने क्षेत्र–१ मा दुई गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसकै पूर्वजिल्ला सभापति संविधानसभा सदस्य भइसकेका द्विवेदीको उम्मेदवारीले यो क्षेत्रको चर्चा चुलिएको छ। सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा यो क्षेत्र लोसपालाई दिएपछि असन्तुष्ट द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

दोहोरिएर कोही भएनन् सांसद 

२०४८ यताका हरेक निर्वाचनमा पर्सा क्षेत्र–१ ले नयाँ अनुहार चुनेको छ। पर्सा क्षेत्र–१ जिल्लाको राजनीतिमै महत्त्वपूर्ण क्षेत्र मानिने गर्छ। रोचक के भने पर्साको  यो क्षेत्रबाट २०४६ को परिवर्तनपछि कुनै नेता दोहोरिएर सांसद भएका छैनन्। २०४८ को निर्वाचनमा पर्सा–१ बाट कांग्रेसका पुराना नेता आत्माराम ओझा निर्वाचित भएका थिए। २०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजीव पराजुली निर्वाचित भए। त्यसपछि २०५६ मा पर्सा–१ मा कांग्रेसका कृष्णप्रसाद भट्टराई यो क्षेत्रबाट निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भए।

लामो समयपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट तत्कालीन मधेसी जनाधिकार फोरमकी करिमा बेगम कांग्रेसका राजेन्द्रबहादुर अमात्यलाई हराउँदै निर्वाचित भइन्। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा अमात्यले बेगमलाई पराजित गर्दै बदला लिए। नयाँ संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरमका प्रदीप यादव निर्वाचित भए। एमालेसँग गठबन्धन गरेको जसपाले यस पटक यादवलाई दोहो¥याएर टिकट दिएको छ भने सत्ता गठबन्धनका तर्फबाट पर्साकै क्षेत्र–४ बाट निर्वाचित निवर्तमान सांसद एवं लोसपा नेता कर्णलाई उम्मेदवार बनाएको छ।

corrent noodles
Metro Mart

एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको छ। 

यसपालि दोस्रो पटक जित निकाल्न एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको छ। स्थानीय नेताहरू पनि त्यही आकलन गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार बनेका द्विवेदीले पार्टी छाडे पनि अधिकांश समर्थकले उनको साथ नछाडेको कांग्रेस पर्सा–१ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता बताउँछन्। 

प्रदीपलाई डर पनि, भर पनि

तत्कालीन फोरम लोकतान्त्रिकको टिकटबाट २०७४ मा यादव २१ हजार १३२ मत ल्याएर निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अनिलकुमार रुंगटाले १६ हजार ४८१ मत पाएका थिए। पर्सा–१ ले वीरगञ्ज महानगरको १९ वटा वडा समेटेको छ। २०७४ मा तत्कालीन समय मधेस आन्दोलनको नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एकै ठाउँ उभिएका थिए। सोही कारण पनि मधेस आन्दोलनबाट उदाएका नेता यादवले भारी मत ल्याउन सफल भए।

दोस्रो संविधानसभा निर्वाचनमा आफूलाई पराजित गरेर संविधानसभा सदस्य बनेका एमालेका विचारी यादवलाई ५ हजार ४४१ मतसहित तेस्रो स्थानमा खुम्च्याउन सफल भएका थिए। जनता समाजवादी पार्टीमा राम्रो पकड बनाउन सफल यादव पूर्व वन तथा वातावरणमन्त्री पनि हुन्। साम, दाम, दण्ड, भेदको प्रयोग गरेर पर्साको राजनीतिक वृत्तमा निरन्तर उकालो चढिरहेका यादवले मधेस आन्दोलनका सहयात्री राजेशमान सिंहलाई पार्टीमा ल्याएर मेयरमा जिताउन सफलता हात पारे। 

यादव पर्सा–१ मा आफू प्रतिद्वन्द्वीभन्दा अत्यधिक मतले विजयी हुने दाबी गर्छन्। २०७४ मा सांसदमा निर्वाचित भएयता आफू हरेक साता यस क्षेत्रका जनतामाझ पुग्ने गरेको बताउँदै उनले जनताको सुखदुःखमा सदैव साथ दिइरहेकाले पनि पुनः चुनाव जितेर नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताए। 

यादव पार्टी संगठनको अवस्था सहज भएकाले भर परिरहेका भए पनि जित निकाल्न चुनौती देखिन्छ। यादवलाई चुनौती भनेको प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका आफ्नै पार्टी जसपाका असन्तुष्ट नेताहरू बनेका छन्। पर्सा क्षेत्र–१ को प्रदेश ‘क’ मा एमाले उम्मेदवार विचारी यादवविरुद्ध जसपाका जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

पर्सा क्षेत्र–२ को प्रदेश ‘ख’ मा एमालेकै उम्मेदवार हरेराम पटेलविरुद्ध जसपा नेता एवं वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका भतिजा रुपेशमान श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सोही कारणले गर्दा शंकामा रहेको एमाले–जसपा गठबन्धन धरापमा पर्ने हो कि भन्ने थप शंका सिर्जना भएको छ। त्योभन्दा पनि पर्सा क्षेत्र–१ का उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई जसपामा प्रवेश गराएपछि एमाले कार्यकर्ता असन्तुष्ट बनेका छन्। यसले जसपा र एमालेबीच दूरी बढेको छ।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले दुई दलबीचमा गठबन्धन भएको अवस्थामा एउटा पार्टीले अर्को पार्टीका कार्यकर्ता भित्र्याउने काम गठबन्धनविरुद्ध भएको टिप्पणी गर्छन्। उनले भने, ‘दुई दलबीचमा गठबन्धन भएको अवस्थामा एकअर्काका कार्यकर्ता चोर्ने काम राम्रो होइन। यसले निर्वाचन परिणाममा असर गर्न सक्छ।’ एमाले उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउने र एमाले कार्यकर्ता जसपामा भित्र्याउने जसपाको कार्यशैलीले समस्या निम्त्याएको एमाले पर्साका इन्चार्ज प्रभु हजराले बताए। यसले पनि प्रदीपलाई चुनौती देखिँदै छ। 

गठबन्धनको आशमा लक्ष्मणलाल 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लक्ष्मणलाल कर्ण पर्सा–४ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्। उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट २० हजार ७३८ मत ल्याएर निर्वाचित भएका थिए। त्यसबेला पनि उनले पार्टी संगठनको बलमा चुनाव जित्नुभन्दा पनि कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिएको बताइन्छ। क्षेत्र–१ मा पनि लोसपाको संगठनात्मक अवस्था कमजोर छ। स्थानीय तह निर्वाचनमा नेता राजेशमान सिंहलाई पार्टीमा रोक्न नसकेको लोसपाले एमालेसँग चुनावी तालमेल गरे पनि सुखद नतिजा आउन सकेन। उपमेयरका उम्मेदवार एवं पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत मात्रै पाएका थिए। अहिले पनि नेता कर्णले आफ्नो टिकटका लागि चालेको कदमले नेता, कार्यकर्तामा असन्तुष्टि देखिएको छ।

लोसपाका महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफले क्षेत्र–१ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। लोसपामा युवालाई उपेक्षा गर्न खोजिएका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको दाबी छ। गठबन्धनका साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको बलमा उनी उभिएका छन्। नेता कर्णले आफ्नो उम्मेदवारी यो अन्तिम भएको बताउँदै सहानुभूति बटुल्न खोजेका छन्। उनले भने, ‘मेरो यो अन्तिम लडाइँ हो। यसपछि युवाले पालो पाउँछन्।’ उनले आफू पार्टी र गठबन्धनको उम्मेदवार भएकाले गठबन्धनमा रहेका दलहरूप्रति भरोसा रहेको बताए । 

अजय द्विवेदी दुवै गठबन्धनलाई चुनौती 

‘विभेदविरुद्ध विरोध, अन्यायविरुद्ध प्रतिकार’ पर्साको क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीको एजेन्डा हो। कांग्रेस पार्टीमा लामो समय लागेर जिल्ला सभापति भइसकेका उनी शालीन नेताको रुपमा परिचित छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेका द्विवेदी पहिलो संविधानसभामा निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा उनी पराजित भए। वीरगञ्ज महानगरको पूर्वउपमेयरसमेत रहिसकेका द्विवेदीलाई २०७४ मा पार्टीले मेयरमा उठाएको थियो। तर १७ हजार १९७ मत ल्याएर उनी पूर्वमेयर विजयकुमार सरावगीसँग पराजित भएका थिए। ३० वैशाखमा  सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उनी मेयरमा उम्मेदवारी दिन चाहन्थे। तर गठबन्धन हुँदा जनता समाजवादी पार्टीको भागमा मेयर पद परेपछि उनी पछि हटेका थिए। उनी संघ तथा प्रदेश निर्वाचनमा जसरी पनि होमिने मनस्थितिमा देखिन्थे। कांग्रेस पार्टीका मात्रै नभएर स्वच्छ राजनीति र विकास चाहनेहरूको उम्मेदवार आफू भएको दाबी उनको छ।

जनताको पीरमर्कामा लडेको, विद्यार्थी कालदेखि नै चिनिएको व्यक्ति भएकाले जनताले न्याय गर्ने विश्वास उनको छ। उनले भने, ‘नारायणी अस्पताल किन र कसको कारणले बन्द भयो? दूरदर्शी थिएन। तुरुन्त फोटो खिच्ने र फेसबुकमा प्रचार गर्ने प्रवृत्ति देखियो। कठिन समय सडकमा आएर नारायणी अस्पताल कसले खुलायो? शिक्षा, खेती होस् वा सडकको समस्या होस्। जहाँ जनताको समस्या छ, म त्यहाँ पुगेको छु। म एकपल्ट सांसद भएँ। पछि दुई–दुई जना सांसद भइसकेका छन्। कति वटा पुल बनाए? कांग्रेसको सरकार थिएन। बजेट पनि कम आउँथ्यो। त्यो बेला पुल बनाएँ। जगरनाथपुरदेखि मिलनचोकसम्म पक्की रोड बनाएँ। यिनै विकास नै जनताको विश्वासको आधार हो।’

द्विवेदी २०३६ देखि कांग्रेसको विद्यार्थी राजनीतिमा आबद्ध भए पनि उनको परिवार भने पर्सामा कांग्रेसको संस्थापक मानिन्छ। उनका ठूला बुबा भागवत द्विवेदी २०१५ मा कांग्रेसको पर्सा जिल्ला सभापति थिए। परिवार नै कांग्रेसमा आबद्ध हुनुका साथै जिल्ला नेतृत्वसमेत गरेकाले उनी आफ्नो ठूला बुबाको प्रेरणाबाटै राजनीतिमा सक्रिय भए। उनले आफ्नो सक्रिय राजनीतिको ४० मध्ये ३८ वर्षसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गरेको भन्दै १४औं महधिवेशनमा सभापतिमा पहिलो चरणमा विमलेन्द्र निधिलाई र दोस्रो चरणमा निधिले देउवालाई समर्थन गरे पनि आफूले शेखर कोइरालालाई साथ दिएको प्रतिशोध देउवाले साँधेको उनको गुनासो छ। 

प्रतिनिधिसभामा २१ उम्मेदवार 

कांग्रेस नेतृत्वको गठबन्धनबाट कर्ण, एमाले नेतृत्वको गठबन्धनबाट यादव र कांग्रेसबाट विद्रो गरेर स्वतन्त्र उमेदवारी दिएका द्विवेदीसँगै पर्सा–१ बाट राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट किरणमान डंगोल, नेपाल मजदुर किसान पार्टीबाट मुकेश कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीबाट सुन्दर साह कानु, नेपालका लागि नेपाली पार्टीबाट जितेन्द्रप्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट अजयकुमार रिजालसहित २१ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी २१ जनाको परे पनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ। प्रदीप यादव, लक्ष्मणलाल कर्ण र अजय द्विवेदीबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

प्रकाशित: Oct 29, 2022| 12:27 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...