हेटौंडा- मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ।
मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध उभिएका दलहरूका तर्फबाट साझा उम्मेदवारलाई जिताउनका लागि आह्वान गरे।
‘कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत प्रतिगमनविरुद्धका दलहरूको साझा उम्मेदवारका रूपमा बाम लोकतान्त्रिक गठबन्का तर्फबाट हामी जनताको माझ आएका छौं,’ खतिवडाले भने, ‘संविधान तथा व्यवस्था जोगाउनका लागि साझा उम्मेदवारका रूपमा गठबन्धन निर्माण गरी जनताका माझ आएकाले हाम्रो जीत निश्चित छ।’
यस्तै, प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले आफ्नो पार्टीको उम्मेदवार नभए पनि देशमा पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धनको उम्मेदवारलाई मत दिनुपर्ने बताए।
कार्यक्रममा गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, मानकुमारी नेपाली, एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णुप्रसाद दाहाल, पार्टीका भूमिनन्द अर्याल, अर्जुन दाहाल, यतिराज सापकोटा, राजवीर मोक्तान, माओवादी केन्द्रका राजकुमार खड्का लगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।