मंगलबार, असोज १, २०८१

गच्छदार 'शालीन' बन्दा 'आक्रामक' चौधरी : के भन्छन् मतदाता?

नेपाली कांग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छदारको चुनावी परिणाम आकलन गर्दा यस पटक पराजित हुने अनुमान धेरैले गरेका छन्। भ्रष्टाचार मुद्दादेखि पार्टी भित्रको हस्तक्षेप लगायत कारणले उनी पराजित हुनसक्ने आकलन हुने गरिएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

आइतबार, कात्तिक १३, २०७९

इटहरी- नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार सातौँ पटक सांसद बन्न चुन‍ावी प्रतिस्पर्धामा छन्। भ्रष्टाचार मुद्दा खेपिरहेका उनी पार्टीभित्रका गतिविधिमा हस्तक्षेप शक्ति कमजोर देखिएपछि चुनावका चतुर खेलाडी भएपनि यसपालि पुरानै मैदान सुनसरी-३ ले साथ नदिने आकलन गर्नेहरू कम छैनन्। 

triton college

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रकरणमा संलग्नताको आरोप र मुद्दा, कांग्रेस महाधिवेशनमा उपसभापतिमा झिनो मतान्तारको पराजय र निर्वाचन क्षेत्रमा एमालेकी उम्मेदवार भगवती चौधरीको बढ्दो प्रभावलाई लिएर गच्छदार कमजोर बनेको टिप्पणी केन्द्रीय राजनीतिमा भइरहेको छ। यद्यपि मैदानमा रहेका गच्छदारमा भने चुनाव जित्ने आत्मविश्वास डगमगाएको छैन। 

इटहरीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस कमजोर भएको अवस्थामा पनि आफू विजयी भएको भन्दै इतिहास सम्झिएका थिए। अहिले गाउँमा कांग्रेस बलियो भएको र त्यसैको बलमा चुनाव जित्नेमा आफू विश्वस्त रहेको भन्दै उनले आश्वस्त पार्ने कोसिस गरे। यसपालि उनलाई गठबन्धनका ५ दलको समर्थन छ। तर स्थानीय स्तरमा असन्तुष्टि पनि रहेकाले सबै दलको मत प्राप्त गर्न उनलाई सजिलो छैन।  

नेपाल विद्यार्थी सङ्घमा हुँदा आफ्नो आँखा फुटेको स्मरण गराउँदै उनले गिरिजाप्रसाद कोइरालासँगको सम्बन्ध उल्लेख गरेर कार्यकर्ताको ध्यान ताने। महाधिवेशनमा रिसाएका कार्यकर्ता फकाउन उनी शालीन देखिए। 

देशका सहरी क्षेत्रमा रहेको गच्छदारप्रतिको नकारात्मक धारणा गाउँका मतदातासम्म पुग्न सकेको देखिँदैन। उनलाई कांग्रेसका नेताभन्दा बढी गच्छदारकै रूपमा चिन्नेहरू धेरै छन् उनको क्षेत्रमा। लामो समय सोही क्षेत्रबाट निर्वाचित उनले यसबीचमा तीन वटा फरक चुनाव चिन्हबाट विजयी भएका छन्।  

Metro Mart
vianet
नेपाली कांग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छदारको चुनावी परिणाम आकलन गर्दा यस पटक पराजित हुने अनुमान धेरैले गरेका छन्। भ्रष्टाचार मुद्दादेखि पार्टी भित्रको हस्तक्षेप लगायत कारणले उनी पराजित हुनसक्ने आकलन हुने गरिएको छ।

यस पटक अन्तिम पटक चुनाव लड्ने घोषणा गरेका उनी कार्यकर्ता र मतदातालाई रिझाउन व्यस्त छन्। सबैभन्दा बढी मतदाता रहेको गाउँमा गच्छदारप्रति विकास निर्माणदेखि अन्तिम पटक मौका दिनुपर्ने धारणा छ।

यसअघि सुनसरी ३ मा दुई पटक गच्छदारसँग पराजित एमालेकी चौधरीले तेस्रो पटक गच्छदारलाई चुनौती दिइरहेकी छन्। दुवै जना मोरङ्गिया थारु समुदायका उम्मेदवार हुन्। 

केही दिन अगाडि कार्यकर्ता भेटघाटका क्रममा चौधरीले यस पटक भाला रोपेर वा गोली ठोकेर भए पनि धाँधली हुन नदिने बताएकी थिइन्। गच्छदारले बारम्बार धाँधली गरेर जितेको भन्दै उनले यस पटक त्यस्तो हुन नदिन कार्यकर्तालाई निर्देशन दिइन्। उनको सोही वक्तव्यलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको छ। 

उता गच्छदारलाई भने चौधरीका आक्रोशित अभिव्यक्ति र कार्यकर्तासँगको खरो व्यवहारले फाइदा पुग्ने देखिएको छ। गच्छदार आफ्ना कार्यकर्ता फकाई रहँदा चौधरीले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको हो। चौधरीको व्यवहारले गच्छदारलाई फाइदा पुग्ने स्थानीयको आकलन छ।

स्थानीय कार्यकर्ता रुष्ट बनेपछि चौधरीको चुनावी अभियान प्रभावकारी नबनेको एमाले कार्यकर्ताकै गुनासो छ। लामो समय सोही क्षेत्रमा एमालेको राजनीति गरेका एक नेताले उनको बोलीवचनले धेरै कार्यकर्तालाई असन्तुष्ट बनाएको बताए। गत स्थानीय निर्वाचनमा समेत उनको भूमिका राम्रो नदेखिएको भन्दै उनले कार्यकर्तालाई नोकरको जस्तो व्यवहार गर्ने गरेको गुनासो गरे। उनका पछिल्ला गतिविधि आक्रामक बनेपछि एमाले मतदातासमक्ष जान कार्यकर्तालाई सजिलो नभएको उनको भनाइ छ। 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का स्थानीय
चौधरीले आफ्नै दाजु आशनारायण चौधरीलाई गढी गाउँपालिकाको अध्यक्ष बनाउन मात्र भूमिका खेलेको गुनासो एमालेमा छ। आशनारायण निर्वाचित हुने बित्तिकै करारका कर्मचारी हटाएपछि स्थानीय आक्रोशित छन्। उता कांग्रेसमा भने गढीमा गैरथारुलाई टिकट दिएपछि एमाले विजयी भएको बुझाइ छ। उक्त पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो। 

000

दुहबी बजारदेखि केही पश्चिम लागेपछि गच्छदारको घर जाने बाटो छुटिन्छ। दोबाटोको पचिरा चोकमा केही युवा क्यारेमबोर्ड खेलिरहेका थिए। चुनावी गतिविधिबारे धेरैलाई चासो छैन। छेउकै रुखमा अढेस लागेर महादेव खाँ मोबाइल चलाइरहेका थिए। राजनीतिमा रुचि नभएको बताउने उनी हामीले अलि जोड गरेपछि केही कुरा भन्न चाहे। राजनीति र दलका गतिविधिबारे रुचि नभएपनि गच्छदार र भगवती भनेपछि खुल्न खोजे। 

अघिल्लो पटक भगवतीले जित्ने आकलन गरे पनि गच्छदार विजयी भएको उनले सुनाए। ‘पहिला पनि भगवतीले जित्छन् भनेर हामी ढुक्क थियौं। पछि गच्छदारले जित्नुभयो। यस पटक पनि धेरैले उनैलाई भोट हाल्छन् जस्तो लाग्छ,’ उनले भने। 

दुहबी-११ का अर्जुन शाहलाई पनि गच्छदारकै पक्षमा नतिजा आउने सम्भवना रहेको लाग्छ। जनताले भ्रष्टाचारभन्दा पनि उनले विगतमा गरेका कामका कारण सम्झिनेहरू रहेको उनले बताए। गाउँमा उनीविरुद्धको भ्रष्टाचार मुद्दाबारे हल्ला नभएको दाबी गरे। 

000

गढी गाउँपालिका र दुहबी नगरपालिकाको सीमानामा एउटा ठूलो वृक्ष छ। पोखरीको डिलमा रहेको वृक्षनजिकैको चौतारी स्थानीयको दिन कटाउने मेलो बनेको छ। लुँडो खेल्ने, मोबाइलमा गीत सुन्ने र हावा खाँदै सुत्नेहरू चौतारीमा भेटिन्छन्। त्यही जमातमा भेटिएका राजेश चौधरी। हामीले पत्रकार भनेर परिचय गरायौँ। उनले सोधिहाले, 'कुन रेडियोको?' 

सुनसरी-३ का अधिकांश स्थानीय रेडियो र भारतीय टीभी च्यानल बढी हेर्छन्। नेपाली रेडियोमा बज्ने समाचारभन्दा गीतसंगीतका कार्यक्रम मन पराउने उल्लेख्य छन्। पत्रपत्रिका र अनलाइन मिडियाको प्रभाव कमजोर छ। यसैकारण गच्छदारविरुद्धको भ्रष्टाचार प्रकरणबारे कम मात्र स्थानीय जानकार छन्। गच्छदार पनि ठूला मिडियामा खासै चासो दिँदैनन्। 

हामीले आफूहरू रेडियोको पत्रकार नभएर समाचारमूलक अनलाइन मिडियाको पत्रकार भएको बतायौँ। अनलाइनका प्रकृतिबारे पनि उनलाई जानकारी गरायौँ। हाम्रो कुरा सुनेर उनले टाउको हल्लाएर केही बुझेको संकेत गरे।

अशोकको बोटमुनि हावा खाँदै लुडो खेलिरहेका आशाराम तेली एमाले समर्थक रहेछन्। तर उनी यो पटक गच्छदारलाई जिताउनुपर्ने धारणा राख्दछन्। गच्छदारलाई सिंहको उपमा दिएका उनी भगवतीले समेट्न नसकेको विषयमा रुष्ट रहेछन्। भगवतीले कार्यकर्तालाई सम्मान गर्न नसकेको गुनासो गर्छन् उनी। 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को एउटा बस्ती
गढी-२ का रामचन्द्र विश्वास कृषि उपज मल विषादी बिक्री गर्छन्। गढी बजारमै पसल अगाडि बसेका उनी भगवती आफ्नै वडामा कमजोर भएको बताउँछन्। भगवतीमा घमण्ड बढेको उनको अनुभव रहेछ। यसअघि विभिन्न पार्टीमा मत दिएको बताउने उनी यस पटक भगवतीको घमण्ड तोडिने बताउँछन्। 

बर्जू गाउँपालिकाकी जोलखा खातुनलाई चुनावबारे चासो छैन। एक वर्ष अगाडि सम्पन्न भएको विराटनगरदेखि लौकही जोड्ने सडक बन्नुमा गच्छदारले भूमिका खेलेको उनले बुझेकी रहिछन्। अहिलेसम्म कसैले पनि आफूसँग भोट नमागेको उनले बताइन्। 

गच्छदारसँग दुईपटक चुनाव हारेकी भगवती चौधरीले यसपालि सहानुभूतिको मत पनि पाउने एमाले नेताहरू बताउँछन्। नाम खुलाउन नचाहने दुहबी-३ की एक मतदाताले चौधरीले न्यूनस्तरका मतदातालाई समेत आफ्नो पक्षमा पार्न सफल भएको बताउँछिन्। चौधरी मतदातालाई सुखदुख पर्दादेखि मर्दासम्मको सहयोगी भएर घरदैलोमा पुग्ने तर गच्छदार काठमाडौंमा मात्र बस्ने भएकाले यसपालि चौधरीलाई सहज हुने उनको भनाइ छ। 

000

सुनसरी-३ मा इटहरीका १० वटा वडा समेटिएका छन्। दुहवी नगरपालिका, गढी र बर्जु गाउँपालिका पूरै यो क्षेत्रमा पर्छन्। इनरुवाको ७ नं वडा पनि क्षेत्र नम्बर ३ मै पारिएको छ। गच्छदारको प्रभाव क्षेत्र मानिएका गढी र बर्जू गाउँपालिकामा गत स्थानीय निर्वाचनमा एमाले विजयी भएको छ। दुहबी र इटहरीमा कांग्रेस विजयी भएका छन्।

स्थानीय तह निर्वाचनको नतिजामा वडाध्यक्षको मतलाई आधार मान्दा गच्छदारको क्षेत्रमा एमाले अगाडि छ। एमालेले ३५ हजार भोट पाउँदा कांग्रेसले ३३ हजार ल्याएको छ। जसपाले ५ हजार ५ सय र माओवादीले ३ हजार ८ सय मत पाएका छन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा गच्छदारले कांग्रेसका अगमलाल चौधरीलाई पराजित गरेका थिए। गच्छदारले २३ हजार ७ सय ६९ भोट पाउँदा कांग्रेसका चौधरीले १० हजार ८ सय ६ मत पाएका थिए। २०७० सालको संविधानसभा चुनावमा गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा एमालेकी भगवती चाैधरीले १७ हजार १६२ मत पाएकी थिइन्। २०७४ सालको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।

२०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका गच्छदार पार्टीभित्र र बाहिर पनि गुमेको साख फर्काउने कसरतमा छन्। आफूलाई अन्तिमपटक अवसर दिन उनले मतदातासँग आग्रह गरिरहेका छन्। उता चौधरीले भने धाँधली हुन नदिने भन्दै गच्छदारप्रति कडा निगरानी राख्ने बताएकी छन्। गत निर्वाचनमा पनि आपसी प्रतिस्पर्धी रहेका उनीहरूको मतान्तर झिनो थियो। त्यसबेला नै गच्छदारले धाँधली गरेर जितेको एमालेले आरोप लगाउने गरेको छ। यसबीचमा शक्ति क्षयीकरण भएकाले यसपालि गच्छदारलाई चुनौतीपूर्ण हुने र चौधरीलाई सहज हुने आकलन केही अघिसम्म गरिएपनि पछिल्लो समय चौधरी पनि विवादित भएको र उनलाई पार्टीका कार्यकर्ता व्यवस्थापन चुनौतीपूर्ण भएको छ।

प्रकाशित: Oct 30, 2022| 07:34 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...