काठमाडौं- नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
घोषणापत्रलाई कांग्रेसले ‘संकल्प पत्र’ भनेको छ। तिहार अघि नै कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि तिहारपछिलाई सारिएको थियो। कांग्रेसले घोषणा निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो। घोषणापत्र ३ खण्डमा तयार पारिएको छ।
पहिलो खण्डमा समसमायिक राजनीति, दोस्रो खण्डमा कांग्रेसको आगामी ५ वर्षको कार्ययोजना र तेस्रो खण्डमा कांग्रेसले दूरगामी रुपमा लिएको आर्थिक सामाजिक नीतिका बारेमा उल्लेख छ। पहिलो खण्डमा संविधान र सुशासनबारे कांग्रेस नेतृत्वको दृष्टिकोणसहित वर्तमान सरकार आइसकेपछि कोरोना नियन्त्रण र संसद् पुनस्स्थापनापछि संसद् र सकारकामार्फत् भएका नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विषय समेटिने छ।
दोस्रो खण्डमा नेपालको अगामी ५ वर्षको मार्गचित्रसहित ५ वर्षको रणनीति र सन् २०३० सम्म अन्तर्राष्ट्रिय रूपमा नेपाल आबद्ध भएको दिगो विकासको लक्ष्यका विषयले निरन्तरता पाउने गरी सैद्धान्तिक आधार प्रस्तुत हुनेछ। दोस्रो खण्डमा ‘फराकिलो आर्थिक सामर्थ्य’ शीर्षक राखेर उल्लेख छ।
क्षेत्रगत प्राथमिकता तोकिने तेस्रो खण्डमा १० विषयमा वित्तीय व्यवस्थाको आकलनसहितका विकास योजना रहका छन्। क्षेत्रगत प्राथमिकताका लागी घोषणापत्र निर्माण समितिले ७ वटै प्रदेशका कांग्रेसका समितिहरुसँग छलफल गरेको छ।
यस्तै, सम्बन्धित क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेर सुझाव लिएको छ। स्रोतका अनुसार आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर युवा, रोजगारी र उद्यमशीलताका आर्थिक एजेन्डाहरु समेटिएका छन्।
शिक्षा तथा स्वास्थ्यका सन्दर्भमा कांग्रेसको योजना, ‘कोखदेखि शोकसम्म’ भन्ने एकीकृत सामाजिक सुरक्षा कार्यक्रम, कोरोनापछिको विकास र जलवायु परिवर्तन तथा तत्कालीन आर्थिक अजेन्डासहितको नयाँ सम्भावनाको क्षेत्रहरुका बारेमा पनि घोषणापत्रमा उल्लेख गर्न लागीएको जनाइएको छ।