काठमाडौं- रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड लागेको छ। बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड बालगोपालेश्वर मन्दिरमा लागेको हो।
दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वरलाई पूजा गरेर टीका लगाउने गर्छन्। भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न पाउने आउने क्रम जारी छ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो। त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए। त्यसबेला छठमा भने मन्दिर खुला गर्ने गरिएको थिएन।
भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको महानगरले बताएको छ। यस वर्षदेखि छठमा पनि रानीपोखरीमा खुला गर्ने तयारी गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।