काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए। सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहोर्याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ। गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ। र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु। मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिनँ। साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ।'
उनले गठबन्धनको अवस्था राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको दाबी गरे। 'गठबन्धनको अहिलेको मुलुकको समस्याको समाधान दिने माध्याम गठबन्धन होइन। गठबन्धन समस्या सृजना गर्ने माध्यम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ,' उनले भने, 'त्यसकारणले गठबन्धनले समस्याको समाधान गर्न सक्दैन। यसले समस्या श्रृजना गर्ने हो। समस्या समाधान गर्नका लागि एमाले चाहिन्छ । त्यसकारणले शासन सत्ताको बाघडोर, सत्ताको बाघडोर एमालेलाई हस्तान्तरण गर्नुपर्छ भन्ने नेपाली जनताको निस्कर्ष हो आजका मितिमा भन्ने मलाई लाग्दछ। र, यस अनुरुपकै नतिजा मंसिर ४ गतेको निर्वाचनबाट पनि प्रकाशित हुन्छ भन्ने मेरो अटल विश्वास छ।’
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गरे। उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने दाबी गरे। ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ। विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ,' उनले भने, 'मैले यस बीचमा निर्वाचन क्षेत्रका मतदातासँग, त्यहाँका बुद्धिजीवि, श्रमिक, मजदुर, किसान सबै उद्योगी, व्यवसायी, युवा विद्यार्थी, महिला, दलित विभिन्न अल्पसंख्यक समुदायहरु, जनसमुदाय, मधेसी समुदायका जनसमुदाय, मुस्लिम समुदायका जनसमुदायलगायत सबै विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनसमूदाय सबैसँग भेटेर मैले कुराकानी गरेको छु। उहाँहरुसँग भेटेर कुरा गर्ने क्रममा यही निष्कर्षमा उहाँहरु पुग्नुभएको निस्कर्ष पाएको छु कि मंसिर ४ गतेको निर्वाचनमा हामी नेकपा (एमाले) को तर्फबाट प्रत्यासी उम्मेदवारहरुलाई विजयी बनाउँछौं भन्ने निष्कर्षमा त्यहाँका मतदाताहरु पुग्नुभएको छ।'
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे। ‘आजको आवश्यक्ता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचार भन्दा पनि आजको आवश्यक्ता संविधानको रक्षा हो। संविधानको प्रभावकारी कार्यान्वयन हो,' उनले भने।
उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।