रोल्पा- तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या भएको छ । पुनको गोली हानी हत्या भएको तरुण दलका महासचिव भुपेन्द्र शाहीले जानकारी दिएका छन् ।
आइतबार दिउँसो रोल्पाको सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्तीलगायतको हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष पुन माथी गोलि प्रहार गरी हत्या गरिएको शाहीले बताए ।
इलाका प्रहरी कार्यलयबाट १५ मिटरको दूरीमा घटनास्थल भएपनि प्रहरीले सुरक्षा दिन नसकेको तरुण दलको आरोप छ । तरुण दलले एक विज्ञप्ती जारी गर्दै कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लिएर अपाराधिक र आतंककारी शैलीमा गरिएको जघन्य हत्याको नेपाल तरुण दलले भ्रत्सना गरेको छ ।
हत्यामा संलग्नलार्इ कडा भन्दा कडा कारबाही गर्न पनि तरुण दलले जोडदार माग गरेको छ । यो आततायी, दुखद घटनाले आफूहरुलार्इ स्तब्ध बनाएको भन्दै तरुण दलका महासचिव शाहीले जनताको जिउ धनको सुरक्षा गर्न र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न सरकारी चेतावनी दिएका छन् ।
यसरी भएको थियो पुन मारिने गरिको गोली काण्ड
नेपाल तरुण दल रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनलाई दिउँसो करिव १ बजेतिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता देव घर्तीले रोल्पा नगरपालिका श्रीचौर बजारमा भेट्न बोलाएका थिए। देवको बोलाएपछि रोहितसँग दुवैजनाले श्रीचौरस्थित रेष्ट रेष्टुरेण्टमा चिया पिएका थिए।
एक घण्टा लामो चियागफ गरिसकेपछि अपरान्ह चार बजेर ४० मिनेटमा देवले पेस्तोल निकालेर रोहितमाथि चार राउण्ड गोली प्रहार गरेका थिए। चार राउण्ड गोलीमध्ये एउटा गोली उनको कोखामा लागेको एक प्रत्यक्षदर्शीले नेपाल समयलाई बताए। रोहितलाई अर्को गोली छाति र एउटा हातमा लागेको थियो।
रोहितलाई गोली लागेको करिव १० मिनेट भित्रै इलाका प्रहरी कार्यालय श्रीचौरबाट खटिएको प्रहरीले घटनास्थलबाट गोली चलाउने देवलाई पेस्तोलसहित पक्राउ गरेको छ। श्रीचौरमा चार राउण्ड गोली चलेपछि बजार क्षेत्रमा सन्त्रास र सन्नाटा छाएको थियो। घटनाको बारेमा जानकारी लिन खोज्दा प्रत्यक्षदर्शीले समेत केही प्रतिक्रिया दिन मानेका छैनन्।
गोली लागेर पुन घाईते भएपछि सुलीचौर बजारमा दिउँसै भागदौड चलेको थियो। रोल्पा नगरपालिका वार्ड नंम्वर दुई रेउघाका पुनलाई प्रहरीले उठाएर नजिकैको उपस्वास्थ्य चौकीमा पुर्याएका थिए। उपस्वास्थ्य चौकीका चिकित्सकले साडे ६ बजे पुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृतकको शब उपस्वास्थ्य चौकीमा राखिएको छ भने आफन्त र कांग्रेस कार्यकर्ताहरुको भिंड लागेको छ। गोली प्रहार गर्ने रोल्पा नगरपालिका वार्ड १० माझिङका देव घर्तिलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा लिइएको छ। उनको साथबाट पेस्तोल बरामत गरिएको छ। प्रहरीले घटनास्थलबाट घर्तीले प्रयोग गरेको बा १२ च ७३५२ नम्वरको नीजि कार समेत बरामद गरेको छ।
घर्ती सार्वजनिक अपराधको अभियोगमा सजाय पाएका व्यक्ति भएको स्थानीयले बताएका छन्। सत्तारुढ दल नेकपाका कार्यकर्ता देवले विपक्षी दल कांग्रेसको भातृ संस्था तरुण दलका रोहित पुनमाथि गोली हानी हत्या गरिएको घटनाको कांग्रेसले भत्सर्ना गरेको छ।
कांग्रेस रोल्पाका सभापति तथा पूर्व सिँचाई राज्यमन्त्री अमरसिंह पुनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र कांग्रेस कार्यकर्ताको सुरक्षाको लागि राज्यसँग माग गरेका छन्। उनले सत्तारुढ दलकै कार्यकर्ताबाट यस्तो किसिमको जघन्य हत्या हुनु घोर आपत्तिजनक भएको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४