कथाकार दिनमान गुर्मछान भर्खर प्रकाशित ‘दंश’ कथा संग्रहले चर्चामा छन् । लामो समय नेपालका राष्ट्रिय पत्रपत्रिकामा फुटकर कथाहरू प्रकाशन गर्दै आएका दिनमान वर्तमान समयको विसङ्गती र युवापुस्ताले भोगिरहेको समस्यालाई विरूद्ध कथामार्फत वकालत गर्दै आइरहेको छन् । उनै कथाकारसँग नेपाल समयका लागि
राज सरगमले गरेको कुराकानीको सम्पादीत अंश ।
कथा निकाल्न प्रकाशकहरूले गाह्रो मानिरहेको अवस्था र कथा साहित्य हराइरहेको बेला कथा संग्रह दंश ल्याउन सहजअसहज कस्तो रह्यो होला ?
प्रकाशनको हालको अवस्था नेपालमा बडो दयनीय रहेको पाएँ । तपाईंले भन्नु भएझैं कथा (कविता पनि) प्रकाशन गर्न प्रकाशकहरु हिचकिचाउछन् । उपन्यास लेखेर ल्याउनुस् भनेर लेखकको हुर्मत लिन खोज्छन् । मानौ लेखकले प्रकाशकको लागि अब लेखिदिनु पर्यो ।
उपन्यासको बजार तातिएको चाहिँ अवश्य हो । बजारमा हल्ला वा चर्चा जे भन्नुस्, उपन्यास र उपन्यासकारकै छ । मिडियाले समेत हल्ला मच्चाइरहेको छ । उपन्यास बिकिरहेको पनि छ । पाठकको एउटा ठूलो संख्या उपन्यास पढ्न हतारिएको पनि देखिन्छ । बजारमा बेस्ट सेलरको लेबल लगाइएको किताबमा प्रायजसो उपन्यास नै पर्ने गर्दछ ।
बजारको यो अवस्थामा कथा साहित्य हराइरहेको हो कि भन्ने लाग्न सक्छ । तर, वास्तवमा कथा हराएको चाहिँ छैन । कथाहरु लेखिइरहेका छन् । पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । फरक यति हो सम्पादकले कथाका नाममा जे पनि छापिरहेका छन् । अनि कथा प्रतिको मोह पाठकमाझबाट हराउँदै जाने भय छ ।
यस्तो अवस्थामा ‘दंश’ कथा सङ्ग्रह प्रकाशनमा ल्याउन कठिन त थियो नै । तर, मलाईं ‘दंश’ प्रकाशन गर्ने क्रममा प्रकाशकको कमी चाहिँ महसुस भएन । सङ्ग्रह निकाल्न चाहने प्रकाशकहरु भेटिए तर म सम्झौता गर्न चाहन्नथे । किताब राम्रो निस्कियोस भन्ने चाहना थियो । अहिले सोचे जस्तै भएको छ ।
तपाईका धेरै कथाहरू पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् । फुटकर कथालाई संग्रहको रूपमा निकाल्न कत्तिको चुनौती रह्यो ?

प्रकाशित कथाहरुलाई सङ्ग्रहमा राख्न चयन गर्न जति गाह्रो केही होइन रहेछ । आफूले सिर्जना गरेका रचना सबै राम्रा लाग्नु कुनै नौलो होइन । तर, प्रकाशित कथाहरुमध्ये केही छान्नुपर्दा चुनौती कै विषय रह्यो । प्रकाशकले सबै कथा नछाप्ने ।
कथाको किताब धेरै ठूलो निकाल्न वा बिक्री हुन गाह्रो नै हुने प्रकाशकको निश्कर्ष । यस्तो अवस्थामा आफ्नो सन्तानमध्ये कुन राम्रो भनी चयनमा निक्कै सकस भएकै हो । त्यो अलमललाई अन्ततः चिरेरै छाड्यौं । अहिले कथासङ्ग्रह प्रकाशन पछिको जुन खुसी महसुस गरेको छु त्यो वयान गर्न शब्द कम भइदिन्छ । एक किसिमको सन्तुष्टी पाएको छु ।
कथा लेखनको अनुभूति सम्झिदा तपाईको दंश कथा संग्रहको दंश शीर्षकले अहिलेको समाजलाई कति चित्रण गर्न खोजेको छ ?
मेरो कथा सङ्ग्रहको शिर्ष कथा दंशले आजको समाज मात्रै होइन अहिलेको समयको चित्रण गरेको छ । दुःखको कुरा, कन्चनपुर महेन्द्रनगरमा घटेको बलात्कार घटनाले देशमा एक किसिमको सनसनी नै मच्चिएको छ ।
दिनहुँ हाम्रो यही समाजमा बलात्कारको घटना भइरहेको छ । तपाईं हामीले कहिले काहिँ सुनेको, भोगेको एउटा कुरा के पनि छ भने बलात्कारमा कहिलेकाही प्रहरी नै संलग्न भेट्छौं । मैले दंश कथामा हाम्रो सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै बलात्कृत हुने घटनालाई कथानकता दिएको छु । जसले अहिलेको समयको दुरदशा देखाएको छ ।
यसैगरि सम्पूर्ण कथाहरु यही समाजको वरिपरि घटेका घटनाहरुलाई कमैले सोचेको विषयमा केन्द्रित रहेर लेखेको छु । आजको समयमा मानिस कसरी संघर्ष गरिरहेको छ । तिनका कुनाकानीलाई अघि सारेको छु।
कथा लेखनको एउटा पाटो भोगाइको प्रतिबिम्बन पनि हो । देखेभोगेका कुरालाई कथानकता दिँदै कथा लेखिन्छ पनि । म आफैँले पनि धेरैजसो देखेका र केही भोगेका घटनालाई कथाको स्वरुप दिएको छु । उदाहरणका लागि, महोत्तरी जिल्लामा साँच्चै घटेको एउटा दुखद घटनालाई मैले कथाको स्वरुप दिएको छु ।
त्यस कथामा कुनै अपराधीसित आफ्नो नाम जुधेको कारण एउटा गरिब किसान एक हप्ता जेल पर्छ र सबै प्रमाण जुटाएर निर्दोष सावित भई ऊ बाहिरिँदा उसको थाप्लोमा रिनको भारी थपिन्छ ।
राजनीतिक विकृति, वर्गिय विभेद र जातिय अन्तर देखाएर लेखिएका कथाले समाज रूपान्तरणमा कस्तो टेवा पुर्याउछ ?
समाज राजनीतिबाट पर छैन । नेपाली साहित्य त्यही समाजको वरिपरि छ । त्यसैले नेपाली आख्यानले यही समाजको राजनीतिक विषयवस्तुलाई छुन्छ नै ।
आख्यानले राजनीतिलाई प्रभाव पार्न खोजिरहेको चाहिँ हुन्छ तर कति हदसम्म भन्ने प्रश्न चाहिँ रहन्छ । विश्वमा आख्यान साहित्यले राजनीतिलाई प्रभावित बनाएका धेरै उदाहरण छन् । हामीकहाँ पनि एउटा निश्चित आन्दोलनमा ती सहयोगी सिद्ध भएका दृष्टान्त नभएका होइनन् । तर स्विकार्नु पर्ने एउटा कुराचाहिँ के हो भने हाम्रो आख्यानले हामीले भोगेको एउटा महत्वपूर्ण समयलाई प्रभावकारी ढङ्गले उठान गर्न सक्थ्यो, त्यसमा भने हामी चुकिरहेको अवस्था छ ।
‘दंश’ कथासंग्रह मेरो पहिलो कथा संग्रह हो । सामाजिक जीवनका केही अलग किसिमको तर यथार्थ चरित्र र घटनालाई अघि सारेको छु । कथा भन्ने आफ्नै शैली निर्माण गर्ने प्रयास गरेको छु । त्यही शैलीबिच राजनीतिक विकृति, वर्गिय विभेद र जातिय अन्तरका कुनाकानीलाई समेत औल्याएको छु । ती कुराले पाठकलाई छोयो भने अवश्य पनि समाज रूपान्तरणमा केही हदसम्म टेवा पुग्ने छ ।
दंश कथा संग्रहलाई छोएर हेर्दा कुन कोणबाट तपाई बढी सन्तुष्ट हुनुहुन्छ ?
दंश कथा संग्रह आजको समयको कथा हो । आज पनि हामी हिजोझैं नवीन ढंगले पिडित छौं । आजको समयको पीडालाई आवाजको रूप दिन खोज्नु यो संग्रहको उद्देश्य हो । केही हदसम्म सफल भए कि भन्ने पनि लाग्छ । यसरी आजको समयलाई दंश मार्फत पस्किनु र पाठकहरु दंशलाई आत्मसाथ गर्न आतुर देखिएको अहिलेको अवस्थाले मलाई सन्तुष्ट बनाएको छ । तपाईंहरु जस्तो प्रिय पाठकहरुको राम्रो रेस्पोन्स आएकोले पनि म उत्साहित छु।