शुक्रबार, साउन १, २०८३

आख्यान साहित्यले राजनीतिलाई समेत प्रभावित पार्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कथाकार दिनमान गुर्मछान भर्खर प्रकाशित ‘दंश’ कथा संग्रहले चर्चामा छन् । लामो समय नेपालका राष्ट्रिय पत्रपत्रिकामा फुटकर कथाहरू प्रकाशन गर्दै आएका दिनमान वर्तमान समयको विसङ्गती र युवापुस्ताले भोगिरहेको समस्यालाई विरूद्ध कथामार्फत वकालत गर्दै आइरहेको छन् । उनै कथाकारसँग नेपाल समयका लागि राज सरगमले गरेको कुराकानीको सम्पादीत अंश ।

कथा निकाल्न प्रकाशकहरूले गाह्रो मानिरहेको अवस्था र कथा साहित्य हराइरहेको बेला कथा संग्रह दंश ल्याउन सहजअसहज कस्तो रह्यो होला ?

प्रकाशनको हालको अवस्था नेपालमा बडो दयनीय रहेको पाएँ । तपाईंले भन्नु भएझैं कथा (कविता पनि) प्रकाशन गर्न प्रकाशकहरु हिचकिचाउछन् । उपन्यास लेखेर ल्याउनुस् भनेर लेखकको हुर्मत लिन खोज्छन् । मानौ लेखकले प्रकाशकको लागि अब लेखिदिनु पर्‍यो । 

उपन्यासको बजार तातिएको चाहिँ अवश्य हो । बजारमा हल्ला वा चर्चा जे भन्नुस्, उपन्यास र उपन्यासकारकै छ । मिडियाले समेत हल्ला मच्चाइरहेको छ । उपन्यास बिकिरहेको पनि छ । पाठकको एउटा ठूलो संख्या उपन्यास पढ्न हतारिएको पनि देखिन्छ । बजारमा बेस्ट सेलरको लेबल लगाइएको किताबमा प्रायजसो उपन्यास नै पर्ने गर्दछ । 

बजारको यो अवस्थामा कथा साहित्य हराइरहेको हो कि भन्ने लाग्न सक्छ । तर, वास्तवमा कथा हराएको चाहिँ छैन । कथाहरु लेखिइरहेका छन् । पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । फरक यति हो सम्पादकले कथाका नाममा जे पनि छापिरहेका छन् । अनि कथा प्रतिको मोह पाठकमाझबाट हराउँदै जाने भय छ ।

यस्तो अवस्थामा ‘दंश’ कथा सङ्ग्रह प्रकाशनमा ल्याउन कठिन त थियो नै । तर, मलाईं ‘दंश’ प्रकाशन गर्ने क्रममा प्रकाशकको कमी चाहिँ महसुस भएन । सङ्ग्रह निकाल्न चाहने प्रकाशकहरु भेटिए तर म सम्झौता गर्न चाहन्नथे । किताब राम्रो निस्कियोस भन्ने चाहना थियो । अहिले सोचे जस्तै भएको छ । 

तपाईका धेरै कथाहरू पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् । फुटकर कथालाई संग्रहको रूपमा निकाल्न कत्तिको चुनौती रह्यो ?

प्रकाशित कथाहरुलाई सङ्ग्रहमा राख्न चयन गर्न जति गाह्रो केही होइन रहेछ । आफूले सिर्जना गरेका रचना सबै राम्रा लाग्नु कुनै नौलो होइन । तर, प्रकाशित कथाहरुमध्ये केही छान्नुपर्दा चुनौती कै विषय रह्यो । प्रकाशकले सबै कथा नछाप्ने । 

कथाको किताब धेरै ठूलो निकाल्न वा बिक्री हुन गाह्रो नै हुने प्रकाशकको निश्कर्ष । यस्तो अवस्थामा आफ्नो सन्तानमध्ये कुन राम्रो भनी चयनमा निक्कै सकस भएकै हो । त्यो अलमललाई अन्ततः चिरेरै छाड्यौं । अहिले कथासङ्ग्रह प्रकाशन पछिको जुन खुसी महसुस गरेको छु त्यो वयान गर्न शब्द कम भइदिन्छ । एक किसिमको सन्तुष्टी पाएको छु । 

कथा लेखनको अनुभूति सम्झिदा तपाईको दंश कथा संग्रहको दंश शीर्षकले अहिलेको समाजलाई कति चित्रण गर्न खोजेको छ ? 

मेरो कथा सङ्ग्रहको शिर्ष कथा दंशले आजको समाज मात्रै होइन अहिलेको समयको चित्रण गरेको छ । दुःखको कुरा, कन्चनपुर महेन्द्रनगरमा घटेको बलात्कार घटनाले देशमा एक किसिमको सनसनी नै मच्चिएको छ । 

दिनहुँ हाम्रो यही समाजमा बलात्कारको घटना भइरहेको छ । तपाईं हामीले कहिले काहिँ सुनेको, भोगेको एउटा कुरा के पनि छ भने बलात्कारमा कहिलेकाही प्रहरी नै संलग्न भेट्छौं । मैले दंश कथामा हाम्रो सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै बलात्कृत हुने घटनालाई कथानकता दिएको छु । जसले अहिलेको समयको दुरदशा देखाएको छ । 

यसैगरि सम्पूर्ण कथाहरु यही समाजको वरिपरि घटेका घटनाहरुलाई कमैले सोचेको विषयमा केन्द्रित रहेर लेखेको छु । आजको समयमा मानिस कसरी संघर्ष गरिरहेको छ । तिनका कुनाकानीलाई अघि सारेको छु। 

कथा लेखनको एउटा पाटो भोगाइको प्रतिबिम्बन पनि हो । देखेभोगेका कुरालाई कथानकता दिँदै कथा लेखिन्छ पनि । म आफैँले पनि धेरैजसो  देखेका र केही भोगेका घटनालाई कथाको स्वरुप दिएको छु । उदाहरणका लागि, महोत्तरी जिल्लामा साँच्चै घटेको एउटा दुखद घटनालाई मैले कथाको स्वरुप दिएको छु । 

त्यस कथामा कुनै अपराधीसित आफ्नो नाम जुधेको कारण एउटा गरिब किसान एक हप्ता जेल पर्छ र सबै प्रमाण जुटाएर निर्दोष सावित भई ऊ बाहिरिँदा उसको थाप्लोमा रिनको भारी थपिन्छ । 
 
राजनीतिक विकृति, वर्गिय विभेद र जातिय अन्तर देखाएर लेखिएका कथाले समाज रूपान्तरणमा कस्तो टेवा पुर्‍याउछ ?

समाज राजनीतिबाट पर छैन । नेपाली साहित्य त्यही समाजको वरिपरि छ । त्यसैले नेपाली आख्यानले यही समाजको राजनीतिक विषयवस्तुलाई छुन्छ नै । 

आख्यानले राजनीतिलाई प्रभाव पार्न खोजिरहेको चाहिँ हुन्छ तर कति हदसम्म भन्ने प्रश्न चाहिँ रहन्छ । विश्वमा आख्यान साहित्यले राजनीतिलाई प्रभावित बनाएका धेरै उदाहरण छन् । हामीकहाँ पनि एउटा निश्चित आन्दोलनमा ती सहयोगी सिद्ध भएका दृष्टान्त नभएका होइनन् । तर स्विकार्नु पर्ने एउटा कुराचाहिँ के हो भने हाम्रो आख्यानले हामीले भोगेको एउटा महत्वपूर्ण समयलाई प्रभावकारी ढङ्गले उठान गर्न सक्थ्यो, त्यसमा भने हामी चुकिरहेको अवस्था छ । 

‘दंश’ कथासंग्रह मेरो पहिलो कथा संग्रह हो । सामाजिक जीवनका केही अलग किसिमको तर यथार्थ चरित्र र घटनालाई अघि सारेको छु । कथा भन्ने आफ्नै शैली निर्माण गर्ने प्रयास गरेको छु । त्यही शैलीबिच राजनीतिक विकृति, वर्गिय विभेद र जातिय अन्तरका कुनाकानीलाई समेत औल्याएको छु । ती कुराले पाठकलाई छोयो भने अवश्य पनि समाज रूपान्तरणमा केही हदसम्म टेवा पुग्ने छ । 
     
दंश कथा संग्रहलाई छोएर हेर्दा कुन कोणबाट तपाई बढी सन्तुष्ट हुनुहुन्छ ?  

दंश कथा संग्रह आजको समयको कथा हो । आज पनि हामी हिजोझैं नवीन ढंगले पिडित छौं । आजको समयको पीडालाई आवाजको रूप दिन खोज्नु यो संग्रहको उद्देश्य हो । केही हदसम्म सफल भए कि भन्ने पनि लाग्छ । यसरी आजको समयलाई दंश मार्फत पस्किनु र पाठकहरु दंशलाई आत्मसाथ गर्न आतुर देखिएको अहिलेको अवस्थाले मलाई सन्तुष्ट बनाएको छ । तपाईंहरु जस्तो प्रिय पाठकहरुको राम्रो रेस्पोन्स आएकोले पनि म उत्साहित छु।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।